रवीन्द्र अधिकारीले गुनगुनाउने गीत–यो जिन्दगी हाम्रो खेर नजाओस्

पोखरा, फागुन २८ ।
’बाटो हिँड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू? गाउँनै शून्य भएको छ ।’, तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकोे जन्म घर भरतपोखरी गैह्रागाउँ जमुनाबोटकी ९० वर्षीया डल्लुमाया बरालले आँखाभरि आँशु बनाउँदै अधिकारीलाई सम्झिन् ।

नेपाल कम्युनिष्ट पार्टी पोखरा महानगरपालिका–३३ द्वारा अधिकारीको जन्मघरमा आयोजित १३औँ दिनको श्रद्धाञ्जलि सभामा सहभागी अधिकांशका आँखा बरालका जस्तै रसाइरहेका थिए । कोही टोलाइरहेका थिए । कोही अधिकारीको तस्बिर हेरिरहेका थिए त कोही अधिकारी पत्नी र छोराहरु हेरेर भावुक बनेका थिए ।

श्रद्धाञ्जली सभामा प्रदेशसभा सदस्य कृष्ण थापाले अधिकारी आफूले बोकेको विचार जनतासमक्ष र्पुयाउन सक्ने प्रभावशाली व्यक्तित्व रहेको स्मरण गरे । अधिकारीले सधैँ गुनगुनाउने गीतको पंक्ति सम्झँदै थापाले भने, ’आँधी बताससँग जुधेर फुलेको सुन्दर फूल जस्तो, सुख्खा असिनादेखि बचेर झुलेको धानको बालाजस्तो यो जिन्दगी हाम्रो खेर नजाओस् । उहाँ सधैँ गुनगुनाउनु हुन्थ्यो । अब उहाँको सपना हामीले पूरा गर्नुपर्छ । जीवनलाई खेर जान दिनुहुँदैन ।’

नेकपा कास्कीका नेता दामोदर वैरागीले समृद्ध नेपालको सपना बोकेर साझा नेताको छवि बनाएका अधिकारीजस्ता नेताको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताए । पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले मन्त्री अधिकारी गाउँठाउँका सबैले गर्व गर्ने नेता रहेको बताए ।

अधिकारीका बालसखा एवम् नेपाल राष्ट्रिय वाणिज्य सङ्घका केन्द्रीय अध्यक्ष धनराज आचार्यले गाउँको माटो र यहाँका जनताले रवीन्द्रलाई एउटा सफल नेता बनाउन धेरै भूमिका खेलेको र पञ्चायतकालका धेरै कठिन अवस्थामा पनि गाउँलेको साथ र इमानदारीले राजनीतिक आन्दोलन अगाडि बढेको स्मरण गरे । उनले त्यसकारण पनि माटोको सम्मानमा लागि श्रद्धाञ्जलिसभा स्वयम् अधिकारी कै जन्मघरमा गरिएको जानकारी दिए ।

श्रद्धाञ्जलि सभामा नेकपा वडा पार्टी संयन्त्रका संयोजक गुरुप्रसाद क्रान्तिकारी, गोपाल पुन, लगायतले गाउँको शिक्षा, स्वास्थ्य र विकासमा कटिबद्ध भएर जनआकाङ्क्षा बुझ्ने नेता गुमाउँदा गाउँ नै टुहुरो हुन पुगेको अनुभूति भएको सुनाए । पत्रकार जमुना बर्षा शर्माले राससका लागि यो खवर लेखेकी हुन् ।