जब रवीन्द्र अधिकारीका छोराले प्रधानमन्त्रीसँग हात मिलाए…..

काठमाण्डौं, फागुन २३ ।
शोकको घडी । काठमाडौंको भृकुटीमण्डपस्थित बगैचा । त्यहीँ राखिएको थियो–नेकपाका नेता भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शोकमा आयोजित श्रद्धान्जली सभा ।

त्यसैपनि श्रद्धान्जलीसभा भावुक हुने नै भयो । उपस्थितहरु दिवंगत नेता तथा आफन्तहरुको अनुहार हेरेर मलिन अनुहार लगाइरहेका थिए । सहभागिहरु के बोल्ने के गर्ने भन्ने दुविधामा थिए । कार्यक्रमस्थलमा एक किसिमको सन्नाटा नै छाएको थियो ।

बिहीबार १ बजेका लागि राखिएको थियो, कार्यक्रम । त्यसभन्दा अघि नै धेरैजसो नेकपाका नेता कार्यकर्ता तथा दिवंगत सदस्यका परिवारजनहरु कार्यक्रमस्थल पुगिसकेका थिए । पौने २ बजे औपचारिक कार्यक्रम सुरु गर्नुभन्दा केहीबेर अघिमात्रै पुगेका थिए–नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड ।

अध्यक्षद्धय आइपुगेपछि महासचिव विष्णु पौडेलले कार्यक्रम औपचारिक रुपमा सुरु गरेका थिए । आयोजकले ओली र प्रचण्ड पुग्नु अगावै स्व. रवीन्द्र अधिकारी, भरतमोहन अधिकारी, आङछिरिङ शेर्पा लगायतका परिवारका सदस्यहरुलाई नामै लिएर आसनग्रहण गराइसकेका थिए ।

कार्यक्रमको सुरुमा दिवंगतहरुको फोटोमा माल्यार्णपण गरिएको थियो । कार्यक्रम चलिरहेका बेला एकजना बालकको ध्यान भने कार्यक्रमतर्फ भन्दा पनि खेल्नतिर नै गएको देखिन्थ्यो । खरानी रङको टिसर्ट र पाइन्ट लगाएका ती बालकप्रति कसैको खासै ध्यान गएको थिएन ।

तर, कार्यक्रमको अन्तिमतिर कार्यक्रम सञ्चालकले नामै लिएर ती बालकलाई बोलाएपछि थाहा भयो– उनी त गतसाता ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि ज्यान गुमाएका स्वर्गीय मन्त्री अधिकारीका कान्छा पुत्र स्वराज पो रहेछन् ! कार्यक्रम सञ्चालकले बोलाएपछि मञ्चतर्फ अघि बढेका उनी प्रधानमन्त्रीसँग हात मिलाउन पुगे ।

त्यसपछि उपस्थित सबैको अनुहार हसिँलो बन्न पुग्यो । प्रधानमन्त्री ओली समेत मुसुक्क हाँसे । जसले पहिलाको श्रद्धाञ्जलीसभाको वातावरण माहोललाई नै केही हदसम्म परिवर्तन गरिदियो । राताेपाटीबाट ।