‘रवीन्द्र अधिकारीको काज किरिया होलि वाईनको दोश्रो रुप ?’
पोखरा, फागुन २३ ।
गएको फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भयो । निधन भएको तेश्रो दिनमा उनको पार्थिव शरिरलाई पोखरा रामघाटमा अन्त्यष्टी गरियो । त्यसअघिको श्रद्धाञ्जली सभामा नेकपाका नेता समेत रहेका उनका बालसखा धनराज आचार्यले अधिकारीको काज किरिया ७ दिनमा सक्ने निर्णय सुनाए । निधन भएको ७ दिनमा मंगलबार किरिया कर्म सकिएको छ । तर हिन्दु धर्मसँग सम्बन्धित संघ संस्थाहरुले चाहीँ काज किरियाको नाममा धर्ममाथी आक्रमण गरिएको आरोप लगाएका छन् ।
विश्व हिन्दु महासंघ सहितका विभिन्न १६ वटा धार्मिक संघ संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर अधिकारीका परिवारले गरेको काज किरियाप्रति आपत्ति जनाएका हुन् । ९ महिना गर्भमा राखेर जन्माएकी आमा र कर्म दिन बाबुको किरियाकर्म गर्न १३ दिन बढी भएको हो ?, जारी विज्ञप्तीमा भनिएको छ–यो क्रियाकलापको भित्रि रहस्य अरु केही छ कि ? होलि वाईनको दोश्रो रुप त होईन ?’ ७ दिनसम्म श्रद्धाञ्जलीसभा गरेर किरियाकर्मको संस्कार पूरा नगरिएको भन्दै त्यसलाई किरियाकर्म भन्न नमिल्ने विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खरालले बताए । ‘राजनीतिको आडमा धर्ममाथी आक्रमण गर्न पाईंदैन । मन नभए किरियाकर्म नगर्न पाईन्छ, उनले भने–तर कुनै प्रक्रिया नै नपु¥याई श्रद्धाञ्जली सभालाई काज किरिया भनेर दुष्प्रचार गर्न पाईंदैन । हिन्दु धर्मलाई कमजोर ठाने धार्मिक युद्ध निम्तिन सक्छ ।’
उनले काज किरियाको नाममा भोटको राजनीति गर्न खोजेको युवा ज्योतिष कमल पौडेलले बताए । ‘प्रेतलाई पितृ बनाउन काज किरिया गर्ने हो । प्रक्रिया पूरा नगरे घर परिवार नै शुद्ध हुँदैन, उनी भन्छन्–तर संस्कृति मन्त्रीको मृत्यु संस्कारले दुखी बनायो । ब्राह्मण र सम्पूर्ण हिन्दु धर्ममाथी नै अपमान भयो ।’ अर्का पण्डित बाशुदेव अधिकारीले धर्म राष्ट्रको पहिचान भएकोले आफ्नो देशको पहिचानमाथी नै हिलो छ्याप्ने काम गरिएको गुनासो गरे । धर्ममाथी धावा बोले परिणाम राम्रो नहुने उनको भनाई छ । पण्डितहरुले हिन्दु धर्ममाथी आक्रमण गरे कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।