अनेरास्ववियु पोखरा इञ्जिनियरिङ कलेजको अध्यक्षमा गिरी

पोखरा, फागुन ४ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन पोखरा इञ्जिनियरिङ कलेजको कार्यवहाक अध्यक्षमा सुन्दर गिरी चयन भएका छन् । शुक्रबार भएको विद्यार्थीहरुको भेलाले गिरीलाई अध्यक्षमा चयन गरेको छ । दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) बीच एकीकरण भएपनि तल्ला तहका कमिटी र संगठनबीच एकीकरण नभएसम्मका लागि अनेरास्ववियुको कमिटी हाँक्न गिरीलाई अध्यक्ष बनाईएको हो ।

पूरानो कमिटीका अध्यक्ष प्रदिप पोखरेल जागिरे भएर गएपछि कार्यबहाक अध्यक्षको रुपमा सन्तोष अधिकारीलाई जिम्मेवारी दिईएको थियो । कार्यबहाक अध्यक्ष पनि पढाई पूरा गरेर कलेजबाट निस्किएपछि कमिटीको नेतृत्व खाली थियो । अहिले पुनः प्रदीपले नै गिरीलाई कार्यबहाक अध्यक्षको रुपमा जिम्मेवारी दिएका हुन् ।

‘कार्यब्यस्तताले कलेजमा नियमित उपस्थित हुन नसक्दा संगठनको क्रियाशिलतामा प्रभाव पर्ने देखिएकोले सांगठानिक गतिविधिलाई गतिशिल तथा चुस्त दुरुस्त राख्न कलेजका सक्रिय र क्षमतावान ब्यक्तित्व सुन्दर गिरीलाई कलेज कमिटिको कार्यबहाक अध्यक्षको जिम्मेवारी प्रदान गरेको ब्यहोरा सबैमा जानकारी गराउँदछु ।–विज्ञप्तीमा भनिएको छ ।’

तत्काल सम्मेलन गर्ने अवस्था नरहेको र संगठन पनि एकीकरणको चरणमा रहेकोले नयाँ संरचना नबन्दासम्म संगठनलाई अगाडी बढाउन तथा कमिटीलाई क्रियाशिल बनाईराख्न कार्यवहाक अध्यक्ष तोकिएको पोखरेलले बताए ।

विद्यार्थीका हक अधिकार सुनिश्चित गर्ने, कलेजमा हुने विकृति र विसंगती अन्त्य गर्न निरन्तर खवरदारी गर्ने तथा अनेरास्ववियुलाई अझै सशक्त ढंगबाट नयाँ एजेण्डाका साथ विद्यार्थीमाझ लैजाने र निरन्तर क्रियाशिल बनाईराख्ने कार्यवहाक अध्यक्ष गिरीको प्रतिबद्धता छ ।