पोखरा चक्रपथ–२० बर्षमा ५ डिजाईन, काम शून्य (नयाँ डिजाइन हेर्नुस)

प्रकाश ढकाल
पोखरा, माघ ४ ।
पोखरामा चक्रपथ निर्माणका लागि पुनः अर्को प्रश्ताव अघि सारिएको छ । पोखरा महानगरपालिका र तनहूँको शुक्लागण्डकीलाई समेत समेटेर बृहत्तर चक्रपथ निर्माण गर्न चिनियाँ टोलि इच्छुक देखिएको छ । प्रारम्भीक अध्ययनको काम सकेर महानगरले १ सय २० किलोमिटर लामो चक्रपथ निर्माणको प्रश्ताव अघि सारेको हो । बुधबार चिनियाँ टोली र प्रदेश सरकारको उपस्थितिमा महानगरले चक्रपथको सामान्य खाका सार्वजनिक गरेको छ । महानगरको प्रश्तावमा १ सय १२ किलोमिटर लामो सडक र ८ किलोमिटर सुरुङमार्ग निर्माण हुनेछ ।

कास्कीको तल्लो गगनगौंडाबाट सुरु हुने रिङरोड तनहूँको गाछेपानी हुँदै सेतीनदीको पुलबाट पुनः कास्की प्रवेश गर्नेछ । त्यहाँबाट लामगादी चोक, माथील्लो पुँडीटार, भरतपोखरी, कृष्ती, फुस्रेखोलाबाट पुम्दीभुम्दी लगिनेछ । पुम्दीडाँडाबाट फेवाताल सम्म १.६ किलोमिटर लामो सुरुङबाट चापाकोट निकालिनेछ । भदौरे हुँदै हर्पनखोला, घाटिछिनाबाट ३.३ किलोमिटर लामो सुरुङ खनेर घट्टेखोला निकालिनेछ ।

घट्टेखोलाबाट मध्येपहाडी लोकमार्गमा जाडेर हेमजा, पुरुञ्चौर, अकला मन्दिर, ठूलीपोखरी, बाटुलेचौर, भलाम, माटेपानी, काहुँखोला पु¥याईनेछ । बिजयपुर खोलाबाट १.७ किलोमिटर लामो सुरुङ खनेर मादी कोरिडोरमा जोडिनेछ । त्यहाँबाट माधवबेंशी निस्केर भगवतीटारमा २.६ किलोमिटर लामो सुरुङ बनाईनेछ । स्याङखुदी निकालेर सुन्दरीडाँडा, तालबेंशी, रुपाताल, सातमुहानेबाट फेरि तल्लो गगनगौंगा पुगेर चक्रपथ टुंगिनेछ ।

चक्रपथमा पूरै सडक ४ लेनको बनाउने प्रश्ताव छ भने सुरुङ चाहीँ २ लेनको हुनेछ । चक्रपथ भित्रको विभिन्न नदी तथा खोलाहरुमा ११ वटा पक्की मोटरेवल पुल निर्माण गरिनेछ भने ७ वटा कल्भर्ट बनाउनुपर्ने अध्ययनले देखाएको छ । चक्रपथको विस्तृत अध्ययनका लागि चीनको पावर चाइना समूह पोखरा आईपुगेको छ । ‘बुधबार टोलिले चक्रपथको आई सर्भे गरिसकेको छ । एकदुई दिनमा सम्भाब्यता अध्ययनको लागि पत्र दिन्छौं, पोखरा महानगरका मेयर मानबहादुर जिसीले भने–प्रदेशसँग पनि सहकार्य गर्नुपर्छ । केही समय लाग्न सक्छ ।’

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत चाहीँ चिनियाँ टोलि चक्रपथमा इच्छुक देखिएकोले संघ सरकारसँग अनुमति लिएर कामको जिम्मा दिने बताउँछन् । ‘चिनियाँहरुको धारणा बुझ्छौं । फिजिविलिटी अध्ययन गर्नका लागि हाम्रो पैसा नलाग्ने गरि मात्रै दिन सकिन्छ, उनले भने–त्यसका लागि पनि संघीय सरकारसँग अनुमति लिनुपर्छ । अव बस्ने क्याविनेट बैठकमा यो कुरा छलफल हुनेछ ।’ महानगरले तयार गरेको प्रारम्भीक प्रतिवेदनले चाहीँ रिङरोड तयार गर्न करिब १८ अर्व रुपैयाँ लाग्ने देखाउँछ । १ सय १२ किलोमिटर सडकका लागि ५ अर्व ६० करोड र ८.२ किलोमिटर सुरुङमार्ग बनाउन १२ अर्व ३० करोड लाग्ने बताईएको छ ।

पोखरा चक्रपथ निर्माणको अवधारणा तत्कालीन जिल्ला विकास समिति कास्कीले अघि सारेको थियो । २०५८ सालमा जिल्ला परिषद्बाट पास गरेर बर्षेनी बजेट समेत विनियोजन भैरहेको थियो । तर एकीकृत रुपमा चक्रपथका लागि भनेर काम हुन नसकेको तत्कालीन जिल्ला विकास समितिका सभापति पूण्य पौडेलले बताए ।

‘पोखरा र लेखनाथलाई एउटै बनाउन उपत्यका चक्रपथको अवधारणा ल्याईएको हो । सबै गाउँलाई छुने गरेर यसको डिजाइन गरिएको थियो, उनले भने–गाउँमै रोजगारी सिर्जना गर्ने र बजार बनाउने मुख्य उद्देश्य थियो । उतिवेलै चक्रपथ बनेको भए पोखरामा यति बाक्लो बस्ती बन्दैनथ्यो । मान्छेहरु गाउँतिरै इलम गरेर खान सक्थे ।’ जिल्ला विकास समितिको डिजाईनमा ७६ किलोमिटर चक्रपथ परिकल्पना गरिएको थियो । यसमा ४ वटा ठूला पुल र १ सय ५४ वटा साना पुल बनाउने गरि स्टिमेट तयार भएको थियो । तर यो डिजाईन कसैले पनि फुकाएनन् र धेरै पटक नयाँ डिजाइन बन्दै गए ।

२०६९ सालमा शहरी विकास तथा डिभिजन कार्यालयले आवधिक योजना बनाउँदा ७५ किलोमिटर लामो पोखरा चक्रपथको प्रश्ताव गरेको थियो । त्यसपछि सडक विभागले २०७० सालमा ८५ किलोमिटर लामो चक्रपथ बनाउने डिजाइन तयार ग¥यो । तत्कालीन क्षेत्रीय प्रशासक दीनेशकुमार थपलियाको अगुवाईमा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठीत समितिले पुनः अर्को प्रश्ताव अघि सा¥यो । फाष्ट ट्रयाक र बाईपास रोड हुने गरेर २०७१ सालमा समितिले ७३.४ किलोमिटर चक्रपथ बनाउन सिफारिस गरेको थियो । बढ्दो सवारी चापका कारण साघुरिँदै गएको पोखरालाई चक्रपथ बनाएर खुकुलो बनाउन लागिएको हो ।