चापाकोटका मेयरको रारामा चटक, रक्सी पिएर झगडा गर्दा ४ जना घाईते
स्याङजा, कार्तिक १८ ।
सरकारी खर्चमा ३० जना लिएर रारा भ्रमणमा गएको स्याङजाको चापाकोट नगरप्रमुख शिव गिरीको टोलीले कालीकोट जिल्लामा मदिरा सेवन गरी झगडा गर्दा मेयरसहित केही घाइते भएका छन् । बिहीबार रारा भ्रमणको लागि निस्किएको नगरपालिकाको टोली शनिबार बेलुका रारा ताल पुगेर फर्किएपछि कालीकोटको स्थानीय एक होटलमा झगडा हुँदा गिरीको टाउकोमा चोट लागेको छ ।
झगडामा घाइते भएका गिरीको टाउकोमा चोट लागेको कालीकोट प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । प्रजिअ कार्कीका अनुसार गिरीलाई जिल्ला अस्पताल कालीकोट राखिएको छ । उनको टाउकोमा ५ वटा टाँका लगाइएको छ ।
यस्तै गिरीका स्वीकय सचीव राजकुमार मल्ललाई पनि १६ वटा टाँका लगाइएको बताइएको छ । यसरी नै नगर प्रहरी इन्र्चाज शोभित थापालाई ४ वटा र चालक सुनिक एसकेलाई ५ वटा टाँका लगाइएको कार्यपालिकाका एक सदस्यले टेलिफोनमार्फत जानकारी दिए ।
प्रजिअ कार्कीका अनुसार भक्तपुर जिल्लाबाट रारा भ्रमण आएको टोली र चापाकोट नगरपालिकाको टोली एउटै होटलमा बास बसेका थिए । च्याङग्राको मासु पोलेर खाने बेला दुई टोलीबीच अपशव्द बोल्दै झगडा भएपछि कुटपिट भएको थियो ।