पाँचौ पोखरा स्पोर्टस् अवार्ड शुक्रबार

पोखरा, असार १६ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ को तयारी पूरा भएको छ । मञ्चले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै असार १८ गते शुक्रबार पोखरा रंगशालाको ब्याण्डमिन्टन हलबाट सेमि भर्चुअलरुपमा सो समारोह गर्दैछ ।
अघिल्लो वर्ष हुन नसकेको सो अवार्ड यसपालि वर्ष २०७६/७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी स्पोर्टस् अवार्ड प्रदान गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समिति संयोजक एवं मञ्च अध्यक्ष एकराज गिरीले बताए ।
यो वर्ष स्पोर्ट्स अवार्डका विभिन्न ७ विधामा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार छन् । तीमध्ये उत्कृष्ट पत्रकारतर्फ २ जना सम्मानित हुने छन् ।
लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराको फुटबल खेल विकासमा योगदान पु¥याएका केशव रञ्जित (आनन्द) र वर्ष उत्कृष्ट खेल संघ पुरस्कार जिल्ला आर्चरी संघलाई दिइनेछ ।
वर्ष उत्कृष्ट पुरुष विधामा नवीन रसाइली (कराते), विनेश खनियाँ (टेबलटेनिस) र सुमन अर्याल (फुटबल) परेका छन् भने वर्ष खेलाडी महिलामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो) र प्रशंसा क्षेत्री (तेक्वान्दो) उत्कृष्ट ३ मनोनयनमा परेका छन् ।
उदीयमानतर्फ दुवाना लामा (पौडी), प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) तथा उत्कृष्ट प्रशिक्षकमा आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) र सुरेश मल्ल ठकुरी (बक्सिङ) मनोनीत छन् । हरेक विधामा उत्कृष्ट १ जनाले मूल कार्यक्रममा नगद सहित अवार्ड जित्ने छन् । साथै मनोनीत सबैलाई ट्रफी र प्रमाणपत्र उपलब्ध गराइनेछ ।
लाइफटाइम अचिभमेन्ट अवार्डमा चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्ला छ भने वर्ष खेलाडी पुरुष र महिलालाई जनही २/२ लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिने छ । वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकार (२ जना) लाई जनही ३५ हजार, सम्मानपत्र, ट्रफी र दोसल्ला दिइनेछ ।
पत्रकार सम्मेलन अवसरमा मञ्च अध्यक्ष एकराज गिरीले अवार्ड सार्वजनिक गर्दै विषम परिस्थितिबीच हुन लागेको कार्यक्रमलाई आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन आग्रह गरे ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ भएको पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष रञ्जन अधिकारी र संचालन महासचिव विजय नेपालले गरेका थिए । मूल कार्यक्रमको एबिसी न्यूज टेलिभिजन र पोखरा टेलिभिजन सहित युट्वबाट शुक्रबार दिउँसो ठिक ३ बजे लाइभ प्रसारणको व्यवस्था मिलाइएको छ । समारोहको प्रमुख अतिथि गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल रहने छन् ।
खेलाडी छनोटका लागि मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ । जसको सदस्यमा केशव पाठक, दीननाथ बराल, सन्देश श्रेष्ठ, सुदर्शन रञ्जित तथा उत्कृष्ट पत्रकार छनोट समितिमा त्रिभुवन पौडेल, दीपेन्द्र श्रेष्ठ र विनोद लामिछाने एवं पदेनसदस्यमा मञ्च अध्यक्ष एकराज गिरी र महासचिव विजय नेपाल छन् ।
मञ्चले स्पोर्ट्स अवार्ड बृहत् बनाउन अध्यक्ष गिरीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।  मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा सल्लाहकार उपसमिति गठन गरिएको छ । सो उपसमिति सदस्यमा पत्रकार कृष्णप्रसाद बास्तोला, नारायण कार्की, पुण्य पौडेल, बद्रीविनोद प्रतीक, रमेश पौडेल, त्रिभुवन पौडेल, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, केशवशरण लामिछाने, माधव बराल, नवीन सिग्देल र दुर्गा अधिकारी छन् । यस्तै, सो समितिमा पत्रकार महासंघ गण्डकी प्रदेश क्षेत्रका ११ वटै जिल्लाका महासंघ अध्यक्ष, विभिन्न खेलसम्बद्ध संघका अध्यक्षलाई समेटिएको छ ।