२१ वर्षीय युवतीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास, थप उपचारका लागि काठमाडौं लगियो

काठमाण्डौं, बैशाख १३ ।
सिरहामा एक युवतीमाथि मट्टितेल छर्किएर जिउँदै जलाएर हत्या गर्ने प्रयास भएको छ । सिरहा नगरपालिका–८ की २१ वर्षीय कन्चन मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन् ।

कन्चनको शरीरको ५० प्रतिशत माग जलेको बताइएको छ। जलिरहेको अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर, अस्पतालले उपचार सम्भव नभएको जनाएपछि राति पौने २ बजे उनलाई काठमाडौं ल्याइएको एक छिमकीले बताए ।

कन्चनको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको उनलाई सिरहादेखि काठमाडौं ल्याउन सहयोग र्पुयाउने जिता गुरुङले जानकारी दिइन् । श्रीमतीलाई जिउँदै जलाउन खोज्ने पति बेचन मण्डल फरार छन् भने कन्चनकी सासुलाई भने सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि गएको बैशाख ५ गते धनुषाको शहिदनगर नगरपालिका–१, पुरवारी टोल चिरैयाकी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए ।

तराई क्षेत्रमा दाइजो नल्याएको तथा कम ल्याएको भन्दै महिलामाथि गम्भीर प्रकृतिका हिंसा हुने गरेका छन् ।

nepallive.com