१७ औं आहा रारा गोल्डकपबाट १ लाख ४९ हजार मात्रै बचत

पोखरा, साउन १८ ।

सहारा क्लबको आयोजनमा भएको १७ औं सस्करणको फुटबल प्रतियोगिताबाट सबैभन्दा कम रकम बचत भएको छ ।

फुटबल प्रतियोगिताबाट आहा रारा गोल्डकपको इतिहासमै क्लबले केवल १ लाख ४९ हजार रुपैयाँ मात्रै जोगाएको छ । क्लबले ६९ लाख २९ हजार ४६० रुपैयाँ खर्च भएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

हिमश्री फुड्सको मुख्य प्रायोजनमा गत फागुन ९ गतदेखि १८ गतेसम्म फुटबल प्रतियोगितामा सञ्चालित थियो । मैदान, स्टेज, प्यारापिट व्यवस्थापनको लागि मात्रै ८ लाख ७७ हजार रुपैयाँ खर्च गरिएको थियो । गेट टिकट मात्रै क्लबले १५ लाख ५० हजार २६५ रुपैयाँको बिक्री गरेको तथ्यांक छ । मुख्य प्रायोजकबाट १३ लाख ५१ हजार उपलब्ध गराउँदा राष्ट्रिय खेलकुद परिषदले ४ लाख रुपैयाँ सहयोग दिएको थियो ।

गोर्खा ब्रुअरी नेपाल प्रालिले ४ लाख, हिमांश एजुकेशन कन्सल्टेन्सीले ४ लाख १ हजार, पृथ्वी राजमार्ग बस व्यवसाय समिति(हाल कम्पनी)ले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो । क्लबले सञ्चालन तथा व्यवस्थापन खर्च तर्फ ६ लाख ६७ हजार रुपैयाँ खर्च गरेको थियो । प्रोत्साहन खर्चमा मात्रै १३ लाख २२ हजार रुपैयाँ खर्च गर्दा कास्की जिल्ला फुटबल संघलाई मैदान मर्मत सम्भार खर्च स्वरुप दुई लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । क्लबले कुल ७० लाख ७८ हजार आम्दानी गरेको उनले बताए ।