होसियार! पोखरामा जथाभावी फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारबाही

पोखरा, साउन ११ ।
पोखरा वडा नम्वर ५ ले जथाभावी फोहोर फाल्नेलाई तत्कालै कारबाही गरेको छ । वडा नम्बर ५ को फिर्के खोलामा फोहोर फाल्दै गरेका १ जनालाई पक्राउ गरी जरिवाना गरिएको हो ।

फोहोर फालेबापत ५ हजार जरिवाना लिईएको वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । ‘ब्यापारीक पसलले अर्कै मान्छेलाई बोकाएर फोहोर फाल्न पठाएको भेटियो । पसललाई तत्काल रसिद काटेर जरिवाना पनि लिईएको छ, उनले भने–फोहोर फाल्न जानेलाई पनि सम्झाई बुझाई पठाएका छौं ।’

सफा पोखरा बनाउने अभियानमा सहयोग गर्न उनको आग्रह छ । ‘पटक पटक सचेतनाका कार्यक्रम गरेपनि यस्तो काम रोकिएन । बारम्बार यस्ता घटना भैरहेका छन्, उनले थपे–गाडी नआएसम्म फोहोर घरबाट निकाल्न मिल्दैन । यस्तो काम नगर्न सबैसँग आग्रह गर्दछु ।’

पोखरा महानगरले एक समय रात्रिकालिन अनुगमन गरेरै फोहोर जथाभावी फाल्नेलाई कारबाही गरेको थियो । पछिल्लो समय अनुगमन नगर्ने र समयमा गाडी नपठाउने समस्याले पनि सडक र खोलामा फोहोर फाल्ने क्रम बढेको छ ।