होटल र पार्टी प्यालेसमा तीज मनाउन नपाईने

पोखरा, साउन १७ ।

पछिल्लो समय नेपाली हिन्दु नारीहरुको महान पर्व तीज भड्किलो बन्दै गएको छ । महिनादिन अघि देखि नै ठूला होटल र पार्टी प्यालेसमा जम्मा भएर तीज मनाउने परम्परा नै बसिसकेको छ । तर कास्की जिल्ला प्रशासन कार्यालयले होटल र पार्टी प्यालेसमा तीज मनाउनेलाई कारबाही गर्ने भएको छ । एक सूचना जारी गरी प्रशासनले तीजलाई भड्किलो हुनबाट रोक्न महंगा होटल र पार्टी प्यालेसमा कार्यक्रम र भोजभतेर गर्नेलाई समातेर कारबाही गर्ने जनाएको हो ।

‘आजकलको तीजले संस्कृति झल्काउँदैन । महंगा रिसोर्टमा गएर दिनहुँ दर खाने चलन छ,’ पोखराकी सामाजिक अभियान्ता अञ्जु क्षेत्रीले भनिन्, ‘यो विकराल बन्दै छ । धनी र गरिव बीचमा ठूलो खाडल सिर्जना गरेको छ । यसलाई तुरुन्त रोक्नुपर्छ नत्र अझै चुनौती थपिदै जान्छ ।’ उनकै नेतृत्वमा रहेको नारी जागरण अभियानले ज्ञापनपत्र सहित तीजको भड्किलोपना रोक्न जिल्ला प्रशासन र प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो ।

तीजको मौलिकतालाई जोगाउन र भड्किलो गतिविधि रोक्न प्रशासनले सार्वजनिक सूचना जारी गरेर तडकभडक नगर्न निर्देशन दिएको छ । सूचना अटेर गरे कानुन अनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नवराज बरालले जानकारी दिए । ‘पर्व मनाउन पाईन्छ । यसमा हाम्रो छेकवार छैन । तर आफ्ना गतिविधिले समाज भाँडिन हुँदैन । यसको मौलिकता हराउन लाग्यो भने संरक्षण गर्ने दायित्व सरकार र नागरिक दुवैको हो,’ उनले भने, ‘पैसा हुनेहरु महिनैभरी दर खाने र नाचगान गर्छन् । हाम्रो परम्परा यस्तो होईन । यसले संस्कार मासिन्छ । त्यसैले रोक्न बाध्य भएका हौं ।’

होटल र पार्टी प्यालेसमा तीज मनाएको थाहा भए सूचना दिन पनि उनले आग्रह गरेका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज यो वर्ष भदौ १५ गते दर खाने र १६ गते तीज पर्व परेको छ ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नचाहिने कुरामा प्रतिश्पर्धा गर्नु नहुने बताए । ‘पुरुषले रक्सी खाए हामीले खाँदा के भयो ? पुरुषले चुरोट खाए हामीले खान के भो भन्दै तर्क गरेर महिला सशक्तीकरण हुँदैन,’ उनले भने, ‘विकृति रोक्ने हो । नचाहिने कुरामा प्रतिश्पर्धा गर्ने होईन । समाज विकासमा प्रतिश्पर्धा गर्नुस् । राम्रा कुराको सिको गर्नुस् र नराम्रा कुरा त्याग्नुस् ।’ भड्किलो भोजभतेरमा नजान उनले आग्रह गरेका छन् ।