होटल र पार्टी प्यालेसमा तीज मनाउन नपाउने निर्णय गरेपछि कास्की प्रशासनको सर्बत्र विरोध

पोखरा, साउन २३ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तीजका विषयमा साउन ९ गते जारी गरेको सूचनालाई लिएर पोखरामा विवाद शुरु भएको छ । अधिकारकर्मी, संस्कृतिकर्मी र महिला नेतृहरुले प्रशासनले आफ्नो अधिकारको क्षेत्रभन्दा बाहिर गएर गलत सूचना जारी गरेको भन्दै यसको कडा आलोचना गरेका छन् ।

चेतना र जनजागरणका माध्यमबाट चाडपर्वहरुमा देखा पर्ने विकृतिलाई सुधार गर्नु पर्ने भन्दै संस्कृतिकर्मी तथा साहित्यकार तीर्थ श्रेष्ठले जिल्ला प्रशासन कार्यालय कास्कीले ठाडै धर्मसंस्कृतिमाथि हस्तक्षेप गरेको आरोप लगाए ।

नागरिक स्वतन्त्रतालाई खुम्च्याउँदै लैजाने केन्द्रीय सरकारको नीति हो कि यो भन्ने डरलाग्दो स्थिति देखिएको भन्दै नेपाल बार एशोसियसन पोखराका अध्यक्ष रोहितराज बाँस्तोलाले यस्ता निर्णयहरु गर्दा प्रशासनले जिम्मेवार ढंगले सोच्नुपर्ने बताए ।

उनले प्रशासनले सुक्ष्म निगरानी राख्ने भन्दै होटल, पार्टी प्यालेस तथा रेष्टुरेण्टहरुमो कार्यक्रम गर्न पाईदैंन भन्न नमिल्नेमा जोड दिए ।

प्रशासनको आडमा हिन्दु धर्ममाथि सुनियोजित प्रहार गर्न खोजिएको हो कि भन्ने प्रश्नमा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बुढाले त्यसो नभई धर्मसंस्कृति र मौलिकता संरक्षणका लागि यो सूचना प्रकाशित गरिएको बताए ।

प्रमुख जिल्ला अधिकारी चक्र बुढाले तीजका नाममा दर्ता नभएका संस्थाले टिकट नबेचुन्, बढि तडकभडक नहोस् भनेर मात्र निगरानी राख्न खोजिएको भए पनि पार्टी, प्यालेस, होटल तथा रेष्टुरेण्टहरुमा रमाईलो गर्न रोक नलगाईएको बताए ।

महिलाहरुको अधिकारलाई कुण्ठित गर्ने उद्देश्यले केही संस्थाले सुनियोजित ढंगले प्रशासनको सूचनालाई गलत ढंगले सामाजिक सञ्जालहरुमा प्रचार गरिएको भन्दै प्रशासन कार्यालयमा आज महिलाहरुले विरोध जनाएका थिए ।

प्रमुख जिल्ला अधिकारी समक्ष गुनासाहरु राखेर फर्किएकी महिला अधिकारकर्मी कमला गिरीले प्रशासनको भनाई सकारात्मक पाईएकोमा खुशी व्यक्त गरे ।