सिटी रेबान महोत्सवको तयारी सकियो

पोखरा, असोज १ ।
सिटी रेवान पोखराले आयोजना गरेको छैटौं संस्करणको सिटी रेबान महोत्सव तथा फुड फेस्टिभलको सम्पूर्ण तयारी सकिएको छ ।
असोज २ गतेबाट ११ गतेसम्म नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने महोत्सव तथा फुड फेस्टिभलको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा तयारी सम्पूर्ण पूरा भएको र महोत्सवको उद्घाटन कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले गर्ने सिटी रेवानका कार्यवाहक अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । महोत्सवका आकर्षणहरुमा दैनिक लोकदोहोरी प्रस्तुती, पप कन्सर्ट, हाँस्य कलाकारहरुको प्रस्तुती, गृहिणी एकल नृत्य प्रतियोगिता लगायत छन् ।
महोत्सवमा लोक दोहोरी तर्फ प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, कोमल वली, बद्री पंगेनी र सुगम संगीत तर्फ हेमन्त शर्मा लगायतका कलाकारको प्रस्तुती रहने सिटी रेबानका महासचिव जीवन दाहालले जानकारी दिए । पोखराका स्थानीय ब्याण्डको लाइभ प्रस्तुती सँगै विभिन्न हास्य कलाकारको प्रस्तुती रहने दाहालले सुनाए । कृषि प्रदर्शनी ,ढिँडो खाने प्रतियोगिता, दसैंको अवसरमा च्यांग्राको बिक्री वितरण एवं प्रदर्शनी महोत्सवको आकर्षणका रुपमा रहनेछन् ।
महोत्सवमा व्यावसायिक प्रयोजनका ९५, रेस्टुरेन्टका १०, सामाजिक संघसंस्था र सुरक्षा तथा स्वास्थ्य सम्बन्धी २० गरी १ सय २५ स्टल रहने छन् । पहिलोपटक महोत्सवमा भाले छोप्ने र ढिँडो खाने प्रतियोगिता समावेश गरिएको छ । करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सवमा ४१ लाख ९५ हजार रुपैयाँ खर्च र ४८ लाख ४० हजार रुपैयाँ आम्दानी गर्ने अनुमान छ । बचत रकमबाट ५ प्रतिशत पर्यटन प्रवद्र्धनका लागि, ५ प्रतिशत दैवी प्रकोपका लागि र ५ प्रतिशत असहाय बालबालिकाका लागि खर्चिने आयोजकले जनाएका छन् । महोत्सवको प्रवेश शुल्क ७० रुपैयाँ राखिएको छ ।
विद्यार्थी, अशक्त, वृद्धवृद्धा, बालबालिकाका लागि परिचयपत्रको आधारमा छुटसहित ४५ रुपैयाँ कायम गरिएको छ । महोत्सव सञ्चालनका लागि संस्थाका अध्यक्ष पीताम्बर पौडेलको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।