साथीहरु सँगै मिलेर रक्सी खाए, तीनजनाले सन्तोषको हत्या गरे
पर्वत, चैत १७ ।
सँगै टिल्ल हुने गरी रक्सी खाएर घर हिँडेका तीन जनाले आफ्नै साथीको हत्या गरेको खुलेको छ । पर्वतको मोदी गाउँपालिका ८ चित्रेका ३३ वर्षीय सन्तोष भन्ने गङ्गाप्रसाद विकको हत्यामा संलग्न उनकै ३ जना साथीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
चैत १२ गते रक्सीको नसामा आफ्नै साथीको हत्या गरेका २३ वर्षीय दलबहादुर नेपाली, २३ वर्षकै रविन सुनार र २६ वर्षीय कृष्णबहादुर सुनार प्रहरी हिरासतमा छन् । राती ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका उनीहरुले विवाद भएपछि चित्रेको नेपानेमा रहेको सादी खोलामा उनीहरूले गङ्गाबहादुरको हत्या गरेर नाङ्गै बनाएर फालेका थिए ।
राति नै नेपानेमा रहेको सामुदायिक जङ्गलमा लुकेर बसेको अवस्थामा डिएसपी भुवनेश्वर तिवारी सहितको टोलीले दलबहादुर र रविनलाई पक्राउ गरेको थियो । फरार कृष्णबहादुर पनि नेपानेकै जङ्गलबाट शुक्रवार बिहान पक्राउ परेका हुन् ।