साढे ३३ किलो सुन प्रकरणमा पूर्व डिआइजी निरौला पक्राउ
काठमाडौं, वैशाख १० ।
गृह मन्त्रालयले साढे ३३ किलो सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक डिआइजी गोविन्द निरौलालाई पक्राउ गरेको छ । माघको अन्तिम हप्ता त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै आएको सुन हराएपछि छानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिले निरौलालाई अनुसन्धानका लागि आइतबार साँझ पक्राउ गरेको हो ।
निरौला विमानस्थल प्रहरी प्रमुख रहेको बेला सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेको भन्दै उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको गृह मन्त्रालयले जनाएको छ । निरौलाले गत चैत २९ मा अवकाश लिएका थिए । गएको माघ ७ गते यूएईबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ किलो सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । घटनामा संलग्न हालसम्म २१ जना पक्राउ परिसकेका छन् ।