सांसद पहारीको सदनमा प्रश्न–स्वास्थ्यको हवमा सिटी स्क्यान छैन ?

पोखरा, साउन १४ ।
पोखराका सांसद राजीव पहारीले प्रदेशको राजधानी पोखरामा सामान्य प्रविधि र मेसिनहरु नहुँदा विरामीले सास्ती भोग्नुपरेको गुनासो सदनमा उठाए । केही समयअघि त्रिशुली दुर्घटनाका विरामी पोखरा ल्याउँदा उनको उपचारका लागि ४ वटा अस्पताल डुलाउनुपर्ने बाध्यतालाई पहारीले सदनमा लगेका हुन् ।

‘पोखरा र राजमार्ग क्षेत्रमा निकै दुर्घटना बढेको छ । तर विरामीले समयमा उपचार पाउन सकेका छैनन् । पोखरामा अस्पतालको लापरबाही बढ्यो, उनले भने–स्वास्थ्यको हव पोखरामा एमआरआई र सिटी स्क्यान गर्ने सामान्य उपकरण पनि छैन । विरामीलाई काठमाण्डौं रिफर गर्नुपर्छ । यसप्रति सरकारको ध्यान आकर्षण होस् ।’

उनले कम्तिमा सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएपनि आवश्यक सबै उपकरणको ब्यवस्थापन मिलाईदिन सरकारसँग माग गरे । ‘पोखरालाई स्वास्थ्यको हव बनाउने योजना पनि छ । उपकरण नहुँदा विरामीले उपचार पाउँदैनन् भन्ने खवर जाँदा कस्तो असर पर्ला, उनले भने–तत्काल अनुगमन गरी उपकरण ब्यवस्थापन गर्न सरकारसँग माग गर्दछु ।’

अघिल्लो साता त्रिशुलीमा भएको बस दुर्घटनामा स्याङजा एन्फाका अध्यक्ष लालबहादुर ज्वारचनलाई एमआर आई र सिटी स्क्यानका लागि मात्रै ४ वटा अस्पताल डुलाईएको समाचार डिएनए नेपाल डटकमले प्रकाशन गरेको थियो ।