सहचालकले चलाएको ट्रक पोखराको फिर्के पुलबाट खोलामा खस्यो

पोखरा, जेठ २५ ।
फिर्के पुलबाट खोलामा मोटरसाइकलहरु खस्दै आएका छन् । फराकिलो बाटो, साँघुरो पुल । त्यसैले त्यहाँ नयाँ पुल बनाउने काम सुरु पनि भएको छ । शनिबार बिहानै फिर्के पुलबाट ट्रक खोलामा खस्यो । सहचालक घाईते भएका छन् । चालक सामान्य छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार सबेरै ३ बजे ट्रक दुर्घटना भएको हो । विन्ध्यवासिनीतर्फबाट जिरोतिर गईरहेको ग १ क ४४७३ नं. को ट्रकमा दुई जना थिए ।

दुर्घटनामा तनहुँ घर भएका २० वर्षीय सुवास गुरुङ घाईते छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । टाउकोमा चोट र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ट्रक उनले नै चलाएका थिए । चालक ३६ वर्षीय सोनम गुरुङ सामान्य छन् ।