सरकारको योजना–गण्डकीमा १० हजार चिनियाँ गाई ल्याईने

प्रकाश ढकाल
पोखरा, असोज ३ ।
आगामी तीन वर्षभित्र प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ । बार्षिक नीति तथा कार्यक्रमभित्रै प्राथमिकताका साथ दुधमा आत्मनिर्भर बनाउने कार्यक्रम सार्वजनिक गरिएको थियो । त्यसकै लागि दुग्ध विकास बोर्ड समेत गठन तयारी भैरहेको छ । बोर्ड गठन भएसँगै सरकारले साझेदारीमा मोडल फार्म स्थापना गर्ने भएको छ । चीनियाँ सहयोगमा गण्डकी सरकारले प्रदेशभित्र १० हजार गाई राख्नेगरी फार्म स्थापनाको योजना अघि सारेको हो । उन्नत जातका पशुपालन गरि दुधको परनिर्भरता हटाउने लक्ष्य सहित गाईको मोडल फार्म स्थापना गर्ने तयारी गरिएको सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।

बुधबारको मन्त्रीपरिषद् बैठकले चीनबाट सहायता ल्याउनका लागि नेपाल सरकारसँग स्विकृति मागेको छ । उनका अनुसार गण्डकी प्रदेशमा १० हजार गाई ल्याएर मोडल फार्म स्थापना गर्न चाइनिज टोलि इच्छुक देखिएको छ । ‘प्रदेशको संरचना बनिनसक्दै पनि यो विषयमा छलफल भएको थियो । गण्डकी प्रदेश सरकारले मोडल फार्म तयार पार्ने र चाईनिजहरुले त्यो फर्ममा सहयोग गर्नेछन्, उनले भने–सहयोग लिनको लागि अहिले अनुमति मात्रै मागिएको हो । यसको विस्तृत विवरण भने आईसकेको छैन् ।’ फार्मबाट डेरी सञ्चालन गर्ने गरी आत्मनिर्भरका कार्यक्रम ल्याईएको उनी बताउँछन् । सरकारको मोडल फार्मलाई डेमोस्टे«सन एरिया अफ मोर्डन डायरी फर्म फार्मिङ (डिएएमडिएफ) लाई चाईनिज एकेडेमी अफ एग्रिकल्चर मोर्डनाईजेशन साईन्स (सिएएमएस) कम्पनीले सहयोग गर्ने इच्छा देखाएको कृषिमन्त्री लेखबहादुर थापाले जानकारी दिए ।

‘लगानीको वातावरण सिर्जना गरेर लगानीकर्ता भित्र्याउने हाम्रो प्राथमिकता हो । त्यसपछि दुग्ध विकास बोर्ड गठन गर्छौं र आवश्यक कार्यविधि बनाएर कार्यक्रम ल्याउँछौं, उनले भने–गाई भैंसी पालनमा सरकारको जोड छ ।’ कति गाई खरिद गर्ने भन्ने निक्र्यौल भैनसकेको उनको भनाई छ । चिनियाँ टोलिले सहयोग गरेपनि व्यवस्थापन र सम्झौतापत्रमा हस्ताक्षर भने प्रदेश सरकारले गर्नेछ । प्रदेश सरकारले नीजि कम्पनी र सहकारीसँग साझेदारी गरेर फर्म सञ्चालन गर्ने जनाएको छ । सरकारले दुध र मासु सहित तरकारी र फलफूलमा आत्मनिर्भर बनाउने कार्यक्रमका लागि चालू बर्षमा १२ करोड रुपैयाँ विनियोजन गरेको छ ।