सडकमा चौपाया छोड्नुहुन्छ ? होस् गर्नुस् १ लाख जरिवाना तिर्नुपर्ला

पोखरा, असोज १४ ।
ठूला सवारी साधन चलाउनका लागि अवदेखि कम्तिमा २१ बर्ष पूरा हुनुपर्ने नियम सहित गण्डकी प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात ऐन ल्याउन लागेको छ । हाल लाइट गाडी चलाएको २ बर्ष पुगेपछि ठूला गाडी चलाउन पाउने नियम थियो । लाइट गाडीको चालक अनुमति पत्र लिन कम्तिमा १८ बर्ष पुग्नुपर्ने ब्यवस्था छ । विधेयकमा मोटरसाईकल र स्कुटर सहित जीप, कार र भ्यान चलाउन कम्तिमा १८ बर्ष पूरा भएको हुनुपर्ने प्रश्ताव थियो ।

यस्तै, मझौला गाडीका लागि २२ र ठूला गाडीका लागि २५ बर्ष उमेरहद तोकिएको थियो । विधायन समितिले भने गाडी चलाउन उमेरले रोक्न नहुने भन्दै मोटरसाईकल र स्कुटर चालकलाई १६ बर्ष र मझौला गाडीलाई १८ बर्षमा नै सवारी चालक अनुमति पत्र दिनुपर्ने गरी संशोधन गरेको हो । ‘सीप भएको मान्छेलाई सानै उमेर भएपनि अवरोध गर्नु हुँदैन । शैक्षिक योग्यता जस्तो सीप सिक्न प्रतिवन्ध लगाउनु गलत हो,’ समितिका सदस्य विष्णुप्रसाद लामिछानेले भने, ‘जानेको मान्छेले चलाउन पाउनुपर्छ । सरकारले रोक्नु हुँदैन ।’

सवारी चालक सहित पैदलयात्रुलाई समेत समेटेर सरकारले नयाँ ऐन बनाएको छ । सडकमा भएको जेब्राक्रस भन्दा बाहिरबाट बाटो काटे त्यस्ता पैदलयात्रुलाई १ सय रुपैयाँ जरिवाना तोकिएको छ । अघिल्लो बर्षको माघ ८ गते सदनमा पेस भएको विधेयक झण्डै १ बर्षपछि पास हुन लागेको छ । माघ १४ गतेको संसद बैठकले सामान्य छलफल गरेर विधायन समितिमा पठाईएको थियो । विधायन समितिले ९ महिना लगाएर दफावार छलफल गरी सदनमै फर्काएको हो । विधेयकको मस्यौदामा ५ सय रुपैयाँ जरिवाना लिने प्रश्ताव गरिएपनि विधायन समितिमा छलफलपछि १ सय रुपैयाँ जरिवाना तोकिएको हो ।

प्रदेशभित्र यातायात क्षेत्रलाई ब्यवस्थित गर्नका लागि सरकारले विधेयक तयार गरेको हो । विधेयकअनुसार छाडा चौपायाका कारण सवारी दुर्घटना भएर कसैको मृत्यु भए चौपायाका धनीसँग १ लाख रुपैयाँसम्म जरिवाना लिने गरी ब्यवस्था छ । यस्तै असुरक्षित गाडी चलाएर ५ सय जरिवाना छ भने ट्राफिक चिन्हको उल्लंघन गरे १ हजार, लापरबाही ढंगले गाडी चलाए १ हजार ५ सय, निषेधित ठाउँबाट ओभरटेक गरे १ हजार ५ सय, जेब्रा क्रसमा पैदलयात्रुले बाटो काट्दा गाडी नरोके ७ सय ५०, फुटपाथमा गाडी चलाए १ हजार ५ सय, स्विकृतभन्दा बढी यात्रु र सामान बोके १ हजार, चलिरहेको बेला यात्रु चढाउने र ओह्राल्ने गरे १ हजार, सडकसीमा भित्र अनुमति विना शाखा सडक वा निजी ढल राखे २ हजार ५ सय रुपैयाँ जरिवाना छ ।

सवारी चालक अनुमतिपत्र निलम्बन भएपछि पनि गाडी चलाएर २ हजार ५ सय, दर्ता नभएको गाडी चलाए ७ हजार ५ सय, मिटरमा देखाएको भन्दा बढी भाडा ट्याक्सीले लिए ५ हजार, चोरीको गाडी चलाए २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । गाडीको बास्तविक नम्बर प्लेट फेरेर नक्कली बनाए ६ महिनासम्म कैद र १५ देखि ५० हजारसम्म जरिवाना हुनेछ । ट्राफिक प्रहरीलाई हातपात गर्नेलाइ समेत १५ हजार जरिवाना र ३ महिनासम्म कैद सजाए हुने छ । इजाजत लिएर सडकमा गाडी गुडाउदा अवरोध गरे ५० हजारदेखि २ लाखसम्म जरिवाना र ५ बर्षसम्म कैद हुने ब्यवस्था गरिएको छ ।

नियतबस दुर्घटना गराएर कसैको ज्यान गए कसुरको मात्रा अनुसार ५ देखि १२ बर्षसम्म कैद हुनेछ भने नियतबस दुर्घटना गराएर सवारी बाहिरको मान्छेको मृत्यु भए ३ देखि १० बर्षको कैद, सामान्य अवस्थामा सवारी दुर्घटना भएको मान्छेको मृत्यु भए १ बर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना हुने ब्यवस्था छ । सवारी चालक अनुमति पत्र नभएको ब्यक्तिले सवारी चलाएर दुर्घटना भई कसैको ज्यान गए ५० हजार जरिवाना र १२ बर्षसम्म कैद, सवारी धनीले चालक अनुमतिपत्र नभएको ब्यक्तिलाई गाडी चलाउन दिँदा दुर्घटनाबाट कसैको मृत्यु भए चलाउन लगाउने ब्यक्तिलाई नै २ बर्षसम्म कैद हुने ब्यवस्था गरिएको छ । विधेयकमाथी सामान्य छलफल गरेर मंगलबारको संसदबाट पास हुने छ ।