संसदमा मन्त्रीका जवाफ प्रहरीका रिपोर्टिङ जस्ता !

पोखरा, साउन २२ ।
गण्डकी प्रदेश सभामा निरन्तर जस्तै सांसदहरुले जनताका दैनिकीसँग सम्बन्धित गुनासाहरु राख्ने गरेका छन् । शून्य समय र विशेष समयमा उनीहरुले विकास निर्माण, संसद सञ्चालन र अन्य सामाजिक कुराहरुलाई पनि उठाउने गरेका छन् ।

तर सांसदले उठाएका प्रश्नमा मन्त्रीले दिएको जवाफप्रति सांसदहरुले नै गुनासो गर्न थालेका छन् । जवाफ दिँदा सामान्य रिपोर्टिङजस्तो मात्रै भएको भन्दै सांसदहरुले सरकार जिम्मेवार हुन नसकेको गुनासो गरे ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको बताए । ‘हामी पहिरोले मान्छे पुरियो सरकार भनेर गुनासो गर्छौं । मन्त्रीहरु अँ पुरियो भनेर जवाफ दिनुहन्छ, उनले भने–हाम्रो अपेक्षा सरकारले पुरिएका मान्छे निकालेर राहत दियोस् भन्ने हो । यो अत्ति भयो । मन्त्रीको जवाफ चित्तबुझ्दो भएन ।’

पछिल्ला दिनहरुमा सांसदहरुले सरकारको कामप्रति पनि गुनासो तेस्र्याउन थालेका छन् । सररकाले गर्दै आएका कामहरु जनपक्षिय हुन नसकेको उनीहरुको आरोप छ ।

मन्त्रीहरुले दिएको जवाफ विवरण पेश गर्ने खालको मात्रै छ । उनीहरुले प्रहरी र जिल्ला प्रशासन कार्यालयबाट विवरण झिकाएर संसदमा घटना विवरणलाई मात्रै जवाफको रुपमा प्रश्तुत गरिरहेका छन् ।