वडा नम्बर ४ का विपन्नलाई माकाजुले गरे खाद्यान्न सहयोग

पोखरा, चैत ३० ।
पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा उद्योगी मानकाजी माकाजुले पोखरा ४ नम्बर वडाका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । माकाजु र उनका भाइ भुविन शेरचनले राहत प्रदान गरेका हुन् ।

१ सय परिवारलाई पुग्ने राहत आइतबार वितरण गरिएको वडाध्यक्ष शंकर बास्तोलाले जानकारी दिए । उनका अनुसार हालसम्म ८ सय ४७ परिवारलाई राहत वितरण गरिसकिएको छ ।

‘अव तत्काल समस्या प¥यो भन्नेहरु छैनन् । महानगर र विभिन्न संघ संस्था र ब्यक्तिहरुको सहयोगले राहत वितरण गरियो,’ उनले भने, ‘लकडाउन अझै बढ्दै गयो भने सोच्नु पर्छ । नत्र अव समस्या हुँदैन ।’ छुटेकाहरुलाई सीधै महानगरसँग समन्वय गरेर राहत वितरण गरिने उनले बताए ।

सहयोग पछि माकाजुले दुखका बेला सहयोग गर्न पाउदा खुशी लागेको सुनाए । ‘पहिले मानव हो । त्यसपछि बल्ल ब्यापार ब्यवसाय । धेरै मान्छेको चुल्हो बलेको छैन । हामी चैनसँग बस्न सक्ने अवस्था कसरी बन्छ ?,’ उनले भने, ‘सबैले आफुले सकेको सहयोग गरौं । यसलै पुण्य मिल्छ ।’

वडा स्तरीय राजनीतिक संयन्त्रले पनि राहत वितरण पारदर्शी र प्रभावकारी भएको प्रतिक्रिया दिए । ‘राजनीतिक आग्रह पुर्वाग्रह छैन । जसले पाउनुपर्ने हो उनैले पाएका छन्,’ उनीहरु भन्छन्, ‘केही मान्छे अझै छुटेको सुचना आएको छ । उनीहरुलाई पनि राहतका लागि पहल गर्नुपर्छ ।’

महानगरको मापदण्ड अनुसार कठिन अवस्थाका ब्यक्तिहरुलाई मात्रै राहत वितरण गरिएको वडाले जनाएको छ । वितरण गरिएको राहतमध्ये पूरा प्याकेजमा २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन र १ किलो गेडागुडी तरकारी छ भने आधा प्याकेजका लागि सबै सामान आधा वितरण गरिएको थियो । राहत वितरणमा खटिने वडा समितिका सदस्यहरु, कर्मचारी र सहयोगीहरुलाई अध्यक्ष बास्तोलाले धन्यवाद दिए ।