राजनीति पेशा होईन, सेवा हो–देवराज चालिसे

पोखरा, कार्तिक २३ ।
नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले राजनीति पेशा नभई सेवा भएको बताएका छन् । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ४ गैह्रापाटनबाट चुनावी प्रचार थालेका उनले देशैभरी राजनीति प्रति जनताको वितृष्णा रहेको भन्दै त्यसमा सुधारको खाँचो औंल्याए ।
‘राजनीतिमा सुधारको खाँचो छ । शुद्धता र पारदर्शीताको खाँचो छ, उनले भने–यसलाई पेशाको रुपमा अंगाल्ने नेताले देशको विकास गर्न सक्दैन । राजनीति सेवा हो भन्ने मान्यता स्थापित गराउनु जरुरी छ, हाम्रो आह्वान देशैभरी फैलियोस् भन्ने चाहाना छ मेरो ।’
४ नम्बर वडाबाटै आफुँले राजनीतिमा त्याग र वलिदान गर्न सिकेको भन्दै उनले त्याग र वलिदानीकै लागि यही वडाबाट प्रचारको अभियान सुरु गरेको बताए । ‘यो वडाले आस्थाको राजनीति सिकाएको छ । मलाई राजनीतिमा पाईला टेक्न सिकाएको छ, उनले भने–त्यसैले यही वडाबाट हामीले घरदैलो सुरु गरेका हौं ।’ राजनीतिमा ठूलो निराशा छ ।
चालिसेले सुधार प्रत्येक ब्यक्तिबाट सुरुवात भएमात्रै देशको समृद्धी हुने विश्वास ब्यक्त गरे । भाषणले मात्रै देशको विकास नहुने भन्दै उनले आँफु कर्ममा विश्वास गर्ने भएकाले चुनावमा निर्धक्कसाथ मतदान गरिदिन आग्रह गरेका छन् ।