यस्तो छ प्रदेश ४ का मुख्यमन्त्री बस्ने निवासको डेकोरेसन (फोटोमा हेर्नुस्)

पोखरा, फागुन ५ ।
ढुंगाको छानो । भित्तामा सफाचट सेतो रंग । आउटडोरमा ढुंगै टाँसिएको । भुईँमा टायल बिछ्याईएको छ, फेवा किनारको एउटा घरमा । ६ कोठा भएको घरमा तीनवटा बेडरुम छ । दक्षिणपट्टी किचन, आडैमा डाईनिङ र त्यसको आडमा पाहुना बस्ने कोठा । सबै कोठामा एटेच बाथरुम आधुनिक खालको । छानामुनि प्लाई ठोकेर सेतो रंग लगाईएको छ । बाहिरी दृष्य पूरानो जस्तो लाग्ने यो घरको भित्री डेकोरेसन भयंकर भिआईपी छ । संघीय संरचना अनुसार प्रदेशमा मुख्यमन्त्री निर्वाचित भएपछि उनी र उनकै परिवारका लागि तयार गरिएको घर हो यो । मुख्यमन्त्री सुत्ने कोठाभित्र चेन्जिङ रुम र सुविधासम्पन्न बाथरुम छ । मुख्यमन्त्रीलाई निवास चाहिएपछि पोखरा लेखनाथ महानगरपालिकाको फेवा किनार स्थित ड्यामसाईडको अतिथी गृहलाई सजाउन थालिएको छ । माथी भनिएका सबै डेकोरेसन पछि थपिएका हुन् । पूराना संरचना भत्काएर सबै कुरा नयाँ बनाईएको छ ।
मुख्यमन्त्रीको निवास छिर्ने गेटैको पश्चिमतिर दुईकोठे नयाँ घर बन्दै छ । सभाहल र सचिवालय राख्नका लागि घर तयार गरिएको हो । ‘डेकोरेसनमा मात्रै ४० लाख भन्दा बढी खर्च भएको छ । अझै धेरै काम बाँकी नै छ, मर्मतमा खटिएका एक कर्मचारीले भने–सालाखाला हिसाव गर्दा ८० लाख भन्दा बढी खर्च हुन्छ, किचन र सचीवालय सहित तयार हुँदा ।’ उनका अनुसार मुख्यमन्त्री र उनका परिवारले सुत्नका लागि प्रयोग गर्ने खाट प्रतिगोटा ४५ हजार पर्छ । भित्तामा प्रतिगोटा करिब ८ हजार पर्ने बत्ति राखिएका छन् । सुरक्षाका लागि वरीपरि घेरेर ६ वटा सिसी क्यामेरा जोडिएको छ ।
निवास तयार गर्दा लाग्ने खर्चमध्ये २५ लाख केन्द्रिय सरकार मार्फत नगरपालिकालाई आउँछ भने बाँकी रकम नगरपालिकाले आफ्नै खाताबाट खर्च गर्नुपर्छ । अहिले तयार गरिएको निवास पनि अस्थायी खालको हो । पछि अर्को निवास तयार गरेपछि सर्ने योजना रहेको श्रोत बताउँछ ।