‘म कसरी अयोग्य भएँ कमरेड ?’
साधुराम लामिछाने
पोखरा, चैत २३ ।
तिमीले गोडाफाट् भन्यौ
मैले गोडा सारें
सतर्क भन्यौ, म सतर्क बनें
अगाडि बढ् भन्यौ, म अगाडि बढें
पछाडि हट् भन्यौ, म पछाडि हटें
सर्टिफिकेट फाल् भन्यौ, मैले फालें
दस्ताबेज पढ् भन्यौ, मैले पढें
इतिहास पढ् भन्यौ, मैले पढें
समाज पढ् भन्यौ, मैले पढें
अरु कत्ति कुराहरू तिमीले नभन्दा पनि पढें
०००
तिमीले बन्दुक बोक् भन्यौ, मैले बोकें
कैयौं कुइन्टल भारी पनि बोकें
सहयोद्धाका अमर शरीर बोकें
घाइते शरीर बोकें
रक्तिम सन्देश बोकें
बोक्न त आजादहरूका प्यार पनि बोकें
जल्लादहरूका कर्तुत पनि बोकें
०००
घर भनिएन
सम्पत्ति, बा आमा, प्रियसी, पढाइ..
यी केही भनिएन
केवल भनियो त परिवर्तन
हिँडियो त मृत्युलाई हत्केलामा राखेर
भत्काइयो दुश्मनको किल्ला
बनाइयो सामन्तीलाई निशाना
…………………………….
तिमीसँग आदेश दिन सक्ने क्षमता थियो
मसँग पनि त तिम्रो आदेश मान्ने क्षमता थियो
मैले आदेश पालना गरेकै हुँ
आफ्नो कर्तब्य निभाएकै हुँ
भोक भोकै लडेकै हुँ
०००
त्यतिबेला,
मेरो अपांग शरीर पनि तिम्रो लागि अमूल्य थियो
किनकि,
म भाँचिएको हात लिएर पनि
बन्दुक चलाउन सक्थें
०००
तिमीले बन्दुक रोक् भन्ने बेलासम्म
म तिम्रो लागि प्रिय थिएँ
म तिम्रा लागि सुरक्षा दिन सक्थें
तिमीलाई हर क्षण पहरा दिन सक्थें
०००
जब तिमी,
हामी बस्ने परालको गुन्द्री छाडेर
राता कार्पेटमा बस्न थाल्यौ
अनि बिस्तारै मेरो मूल्य तोक्न थाल्यौ
०००
खुट्टामा गोली बोकेको म
भाँचिएको हात बोकेको म
अयोग्य बनें, कमरेड !
कुनै बेला म अमूल्य थिएँ होइन ?
भाँचिएकै हातले गोली बोक्दा समेत
ती दिनहरूमा योग्य म
खै कसरी आज अयोग्य भएँ ?
०००
तिमीले भनेको मोर्चा सम्हालेकै हुँ
दुश्मनको किल्ला तोडेकै हुँ
मेरो काँध टेकेर
तिमीले छलाङ मारेकै हौ
०००
भन्थ्यौ तिमी
मेरो योगदानको मापन हुनुपर्छ
तर मापन त मेरा शरीर भए
उचाइ भए
तौल भए
तर,
०००
खै त तिम्रो उचाइको मापन गरिएको ?
खै त तिम्रो तौलको मापन गरिएको ?
खै त तिम्रो योग्यता मापन गरिएको ?
केही मापन गर्नै नपर्ने तिमी योग्य
तिमीलाई नै योग्य बनाउन शरीरमा गोली बोक्ने
म कसरी अगोग्य भएँ ?
कमरेड !
म कसरी अगोग्य भएँ ?
०००