मेरो गिरफ्तारी राजनीतिक प्रतिशोधबाहेक केही होइन : आलम

 

रौतहट, कार्तिक ८ ।

वम विस्फोट र घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको बताएका छन् ।

म्याद थपका लागि शुक्रबार अदालत उपस्थित गराउने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पूर्वमन्त्रीसमेत रहेका आलमले आफूलाई झुटो मुद्दामा फसाइएको दाबी गरे ‘मेरो गिरफ्तारी असान्दर्भिक छ, कानूनी राज्यको अवधारणाको उल्लघन हो’, उनले भने, ‘मेरो गिरफ्तारी राजनितिक प्रतिशोधबाहेक अरु केही होइन ।’

उनीमाथि ज्यानसहित तीन मुद्दामा अनुसन्धान भइरहेको छ र अदालतले थप ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

१२ वर्ष अघि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा आलमलाई २६ असोजमा पक्राउ गरिएको थियो । (अनलाइनखबरबाट साभार)