मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखला, फाइनलमा प्रवेश

काठमाण्डौं, मंसिर १८ ।
मिस वल्र्ड २०१८ मा नेपालकी चेली श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पारेकी छन् । २३ वर्षीया खतिवडाले मिस वल्र्डमा मेक्सिको र केन्याकी प्रतिस्पर्धीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् ।

मल्टिमिडिया अवार्डका लागि सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट पाँचमा नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत परेका थिए । त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिष्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाएका थिए ।

यो सँगै खतिवडा मिस वल्र्ड २०१८ को फाइनलमा पुगेकी छन् । चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी प्रतिस्पर्धामा थिए । सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी मिस नेपाल खतिवडा टप ३० मा परेकी थिईन् ।