महेन्द्र र चमेरे गुफामा भारतिय पर्यटकको संख्यामा वृद्धि

 

पोखरा, साउन २४ ।

पोखराकै प्रसिद्घ महेन्द्र गुफा र चमेरे गुफामा भारतिय पर्यटकको संख्यामा वृद्धि भएको छ ।

प्राकृतिक गुफाको रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५÷०७६ मा उल्लेख्य रुपमा भारतिय पर्यटकले अवलोकन गरेको महेन्द्र गुफा चमेरे गुफा सचिवालयले जनाएको छ । गत आर्थिक वर्षमा महेन्द्र गुफामा मात्रै ८४ हजार ६ सय १२ जना र चमेरे गुफामा ४२ हजार ८ सय ५४ जना पर्यटक भित्रिएको सचिवालयका अप्रेशन म्यानेजर शिशिर पौडेलले जानकारी दिए ।

अघिल्लो आ.व २०७४÷०७५ मा भन्दा यस आर्थिक वर्षमा दुवै गुफामा गरी २६ हजार ७ सय ३० जना भारतिय पर्यटकको संख्यामा वृद्घि भएको हो । यस आर्थिक वर्षमा स्वदेशी र विदेशी पर्यटकको संख्या केही घटे पनि सार्क मुलुक मध्ये भारतवाट आउने पर्यटकको संख्यामा वृद्धि भएको पौडेलले बताए ।

यस आर्थिक वर्षमा दुवै गुफाबाट ३ करोड भन्दा बढी आम्दानी भएको छ । पछिल्लो समय गुफा क्षेत्रको आन्तरिक व्यवस्थापनमा केही सुधार भएका कारण पनि आम्दानी सँगसँगै खर्चमा पनि वृद्धि भएको बताईएको छ ।

बाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विको स्वामित्व तथा संरक्षकत्वमा संचालित दुवै गुफाको वृहत र व्यवस्थित विकासका लागि गुरुयोजना समेत निर्माण भएको छ ।

गुफा क्षेत्रलाई थप आर्कषित बनाउन गुरुयोजना अनुसार नै काम शुरु गरिने महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक यदुनाथ वञ्जराले बताए । पर्यटकको सुरक्षाको लागि सिसि क्यामेरा जडान गरिएको गुफामा अब छिट्टै फ्रिवाई फाई सेवा संचालनमा ल्याईने वञ्जराले जानकारी दिए । गुफाबाट प्राप्त आम्दानीले त्यस क्षेत्रको मात्र नभई आसपासको भौतिक तथा पर्यटकीय विकासका लागि पनि आफुहरुले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताए । “गुफाको भौतिक विकास सँगसँगै, त्यस क्षेत्रको सडक, नाला निर्माण तथा फोहर व्यवस्थापनको लागि पनि सहयोग गरेका छौं” आचार्यले भने ।

त्यस क्षेत्रको फोहर व्यवस्थापनको लागि विद्यालय र वडा कार्यालयको समन्वयमा डस्टविन राख्ने कार्य समेत भएको छ ।

गुफाको गुरुयोजनालाई कार्यान्वयन गर्न प्रारम्भिक रुपमा ५० लाख रुपैंया विनियोजन गरी कार्य शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले बताए । गुरुयोजना अनुसार सबै कार्य सम्पन्न गर्न भने केहि समय लाग्ने उनको भनाई छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष मनाईरहँदा बाहृय पर्यटकको आगमन वृद्धि हुनुले पनि पर्यटन क्षेत्रमा उत्साह थपेको बताईएको छ ।