मनाङे भन्छन्ः कास्कीको हिरासत काठमाण्डौं भन्दा राम्रो, उडुस रहेनछन्

पोखरा, माघ १२ ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे ६ हजार धरौटीमा आइतबार छुटेका छन् । आउँदो फागुन १३ गतेलाई तारिख तोकेर उनलाई जिल्ला प्रशासन कार्यालयले रिहा गरिदिएको हो ।

गत मंगलबार कास्कीको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटवलको उद््घाटनमा आयोजक कास्की एन्फाका अध्यक्ष मिलन गुरुङलाई कुटेका थिए । सोही घटनालाई लिएर गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालयमा फौजदारी अभियोगमा मुद्धा दर्ता गरेका हुन् ।

विहिबार पक्राउ परेका सांसद मनाङेलाई शुक्रबार २ दिन म्याद थपिएको थियो । रिहा भएपछि सांसद मनाङेले एन्फाको भ्रष्टाचार उजागर भएको प्र्रतिक्रिया थिए । ‘एन्फाको भ्रष्टाचार बल्ल खुलेको हो । एन्फा कसैको बाउको सम्पत्ति होइन । विदेशीले नेपालीलाई खेलोस भनेर पठाएको हो, यिनीहरुले एक्लै खाका छन्,’ उनी भन्छन्, ‘फिफाको पैसा सबै मिलेर खान थाले । एन्फाको अध्यक्षलाई हेर्नुस, जहिले प्लेनमा हिँड्छ, शेर्पा हो त्यो, खासमा पहिले गाइड हो त्यो, अहिले अध्यक्ष भएपछि बौलाएको छ, प्लेनमै सुत्छ रे त्यो ।’

सांसद मनाङेले पोखराको हिरासत काठमाण्डौं भन्दा राम्र्रो रहेको प्रतिक्रिया दिए । ‘काठमाडौंमा भन्दा ठिक रहेछ, यहाँ उडुस देखिन के मैले, काठमाडौंमा उडुस बढी हुन्छ के मलाई त मजै लाग्यो, रेस्ट गर्न पायो, हिरासत अनुभव कस्तो रह्यो भनेर पत्रकारले सोधेको प्रश्नमा उनले जवाफ फर्काए, २ दिन मजाले सुतें । आराम गर्न पाएँ ।’

उनले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफ्नै बेवकुफीका कारण मुद्दा खेपेको बताए । मनाङको टीमलाई ब्यवस्थापन गरिदेउ भनेर भएको सामान्य छलफललाई राजनीतिक मुद्धा बनाईएको भन्दै उनले यो गलत भएको टिप्पणी गरे । अध्यक्ष गुरुङलाई चाहीँ ७ दिन म्याद थपिएको छ । बैंकिङ कसुरमा पक्राउ परेका उनलाई उच्च अदालत पोखराले ७ दिन म्याद थपेको हो ।