भाग्यमानि सन्तोष–जसको खातामा नविल बैंकले हालिदियो २४ अर्व, रातभरमै बने अर्वपति

काठमाण्डौं, बैशाख २० ।
इसिमोडमा कार्यरत वाटर एन्ड क्लाइमेट स्पेसलिस्ट सन्तोष नेपाल अहिले एकाएक सेलिब्रिटी बनेका छन् । बिहानदेखि उनलाई फोन उठाउँदाको हैरान छ । विभिन्न अनलाइनहरुले कहाँ कहाँबाट नम्बर पत्ता लगाएर तारन्तार मोबाइलमा कल गरेको र्गयै छन् । मोबाइलमा जवाफ दिँदादिँदा ब्रेकफास्टसमेत राम्रोसँग खान पाएनन् अफिसको गाडीसमेत झण्डै छुट्यो ।

उनलाई मिडियाको आकर्षण बनाउने काम भने नबिल बैँकले गरिदिएको हो । नबिल बैँक अर्थात् नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको बहुमत सेयर रहेको बैँक । त्यही बैँकले उनलाई अर्बपति बनाइदियो । एक, दुई अर्ब हो र, २३ अर्ब रुपैयाँ उनको खातामा जम्मा गरिदियो । अर्बपति बन्नुभयो भने तपाईँ के गर्नुहुन्छ ? सन्तोषलाई भने त्यही बेलादेखि तनाव सुरु भयो ।

को बन्छ करोडपति भन्दै टेलिभिजन कार्यक्रम सुरु भएको यत्रो महिना भइसक्दा पनि कोही करोडपति बन्न सकेका छैनन् । बढीमा लखपति नभए हजारपति भएर फर्किरहेका छन् प्रतियोगीहरु । तर सन्तोष नेपाल भने अचानक अर्बपति बन्न पुगे । मंगलबार साँझ उनको नबिल बैँकको खातामा २३ अर्ब ७५ करोड ९६ लाख ३३ हजार ७७६ रुपैयाँ ६६ पैसा जम्मा भयो ।

मोबाइल बैँकिङ लिनुभएको छ भने कसैले तपाईँको खातामा रकम जम्मा गर्दा वा झिक्दा एसएमएस आउँछ । सन्तोषले आफ्नो खातामा जम्मा भएको रकम एसएमएसमा पाएका भने हैनन् । आफ्नो ऋणको किस्ता बैँकले काट्यो कि काटेन हेर्न नबिल बैँकको अनलाइन एकाउन्ट चेक गरेका थिए उनले मंगलबार दिउँसो अफिसमै हुँदा । ‘हजार मात्र हुनुपर्ने मेरो खातामा केही लाख रकम देखियो’, उनी त्यसपछि झसङ्ग भए । फेरि रिफ्रेस गरे । रकम अझ बढ्यो, करोडमा पुग्यो । फेरि गरे, अब त झन् अर्बमा पुग्यो । रकम बढ्दा बढ्दै २३ अर्बमा पुगेर रोकियो ।

दुई वर्ष अघि युवा वैज्ञानिक अवार्ड पाएका डा. सन्तोषलाई थाहा भइसकेको थियो, यो सिस्टमको गल्ती हो । त्यसैले बैँकलाई सम्पर्क गर्न खोजे । तर बैँक बन्द भइसकेको थियो । बैँक बन्द भए पनि कार्ड डिभिजन भने २४ घण्टा खुला हुन्छ । उनले त्यसैमा सम्पर्क गरे । खासमा यो कार्ड डिभिजनसँग सम्बन्धित विषय हैन । त्यही भएर सुरुमा उनले पाएको जवाफ फन्नी खालकै थियो–विदेशबाट कसैले जम्मा गरिदिएको होला !

पछि उनको सम्पर्क नबिल बैँकका डिजिटल हेड सनत पौडेलसित भयो । सन्तोषले आफ्नो मोबाइल नम्बर पनि दिएनन्, खाता नम्बर पनि दिएनन् । यस्तो भयो भनेर जानकारी दिए । एक घण्टासम्म फोनमा होल्डमै बसी कुराकानी भइरह्यो ।

के कारणले यस्तो भयो त ?

उनका अनुसार बैँकले दिएको एक्सप्लेनेसन यस्तो थियो, ‘बैँकले रकम ब्रान्च ट्रान्सफर गर्दा र्यान्डमली नम्बर जेनेरेट भएर तपाईँको खातामा आएको हो ।’ पत्याउनुको विकल्प थिएन । सनतसित कुरा भएपछि २३ अर्ब रुपैयाँ फिर्ता भयो ।

पाँच घण्टासम्म अर्बपति भएका सन्तोषको खातामा रकम हजारमा र्झयो । भएको मेहनतले कमाएको १०÷२० हजार रुपैयाँ खातामा देखेपछि ढुक्क भए उनी । अर्बपति हुँदाको तनाव हरायो, हजारपति भएपछि सुखको सास फेरे । राति ८ बजेर १९ मिनेटमा फेसबुकमा पनि लेखे, ‘बल्ल निद्रा राम्रो लाग्ने भो ।’

नमागेको अर्ब रुपैयाँ आएपछि फिर्ता गराउँदाको तनाव त छँदैछ, केही रमाइलो पनि भयो । उनले हाँस्दै सुनाए, ‘छोराछोरीले अर्बपति हुँदा के के किन्ने भनेर गरेको फर्माइस पनि सुनियो । रमाइलो रह्यो ।’