भदौको तेस्रो साता पोखरामा क्लब स्तरिय पुरुष, महिला भलिबल प्रतियोगिता हुने

 

पोखरा, भदौ ३

अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा भदौको तेस्रो साता पोखरामा दोस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ ।

भदौं १७ देखी २१ गते सम्म पोखराको नदिपुरको कर्पाकेली समाज घर स्थित खेल मैदानमा प्रतियागिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

प्रतियोगितामा पुरुष तर्फको बिजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका खेल संयोजक अनिल गुरुङले बताए । उनका अनुसार उपबिजेता टिमले नगद ४० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २० र १४ हजार प्रदान गरिने उनले बताए । उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १५ हजार र उपबिजेता टिमले नगद १० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा पुरस्कृत गरिने जानकारी दिदै संयोजक गुरुङले पुरुषतर्फ दर्ता शुल्क ५ हजार र महिला तथा भेट्रान्स तर्फ २ हजार ५ सय निर्धारण गरिएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले सामाजिक सेवामा निरन्तर लागेर समाज रुपान्तरणमा भुमिका खेल्दै आएको बताए । प्रदेश सरकारले खेलकुदको केन्द्र बनाउन नीति सहित लागि रहेकोले थप टेवा पु¥याउने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरेको उनले जानकारी दिए । प्रतियोगिता गाउँकुनामा लुकेर रहेका प्रतिभावान खेलाडीहरुका लागि सुवर्ण अवसर बन्ने बिश्वास समेत उनले ब्यक्त गरेका छन् ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिता अबधिभर बिभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।