भड्किलो तीज विरुद्ध प्रशासन, प्रशासन विरुद्ध हिन्दु महासंघ
पोखरा, साउन २६ ।
तीज पर्व भड्किलो भएको आरोप सहित साउन पहिलो साता नारी जागरण अभियानले मुख्यमन्त्री सहित कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए । साउन ९ गते जिल्ला प्रशासन कार्यालय कास्कीले तीजमा तडकभडक नगर्न तथा पार्टी प्यालेस र होटलमा तीज नमनाउन सार्वजनिक सुचना जारी ग¥यो । त्यसपछि गण्डकी प्रदेशभरी लहर नै चल्यो, सार्वजनिक सुचना निकाल्ने । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि सबै जिल्ला प्रशासन कार्यालयलाई तडकभडक रोक्न आग्रह सहितको परिपत्र ग¥यो ।
अहिले विश्व हिन्दु महासंघले प्रशासनले निकालेको सार्वजनिक सूचना विरुद्ध आवाज उठाउन थालेका छन् । ‘पछिल्लो समय शहरी क्षेत्रमा तीजका मुख्य दिन आउनुभन्दा हप्तौं अगाडीदेखि विभिन्न संघ संस्थाको नाममा विभिन्न होटल र पार्टी प्यालेसमा दरखाने र भेटघाट कार्यक्रम राख्ने गरेको विगतका केही बर्षहरुमा देखिएको छ ।
यसबर्ष पनि तीज आउनु एक महिना अगाडीदेखि नै दर खाने र भेटघाट कार्यक्रमका नाममा प्रचार प्रसार, अग्रिम टिकट बुकिङ र होटल तथा पार्टी प्यालेसहरुको बुकिङ हुन थालेको सूचना जानकारी यस कार्यक्रयमा समेत प्राप्त हुन आएको छ,’ प्रशासनले निकालेको पत्रमा भनिएको छ, ‘तीजको मौलिकता माथी आँच आउने प्रकृतिका फजूल खर्च तडकभडक गरगहना प्रदर्शन, र सांगितिक कार्यक्रमका नाममा हुने ध्वनी प्रदुषण तथा होटल एवं पार्टी प्यालेसमा हुने दरखाने कार्यक्रम लगाएत खर्चिला कार्यक्रमले हिन्दु नारीहरुले मनाउने मौलिक चाडको मौलिकता माथी प्रश्न उठाएको भनि तीजको मौलिकता संरक्षणको ध्यानाकर्षण पत्र आएको छ । मौलिकता अनुसार तीज मनाउन अनुरोध छ । यो सूचनाको बर्खिलाप गरे कानुन अनुसार कारबाही हुन्छ ।’
तर विश्व हिन्दु महासंघले चाहीँ प्रशासनले निकालेको सूचनाले हिन्दु धर्ममाथी प्रहार गरेको आरोप लगाएको छ । शनिबार पत्रकार सम्मेलन गरी महासंघले धर्म निरपेक्ष मुलुकमा अन्य धर्मलाई प्रश्रय मिल्ने गरी हिन्दु धर्मको बर्खिलापमा प्रशासन उत्रिएको आरोप लगाएको हो । ‘जागरणका नाममा चोकचोकमा सच्चाई खोलिएका छन् । कोही बोल्दैन । अभियान्ताहरुले त्यस्तो देख्दैनन् । प्रशासन चुप छ,’ महासंघ कास्कीका सचिव कमल पौडेलले भने, ‘सरल तरिकाले दिदीबहिनीहरु रमाईलो गर्दा गिद्धे नजर किन ? भड्किलोको नाममा अभियान्ताले संस्कृति मास्ने काम गरे ।’
अध्यक्ष पार्वता पौडेलले प्रशासनको पत्रले समाजमा त्रास फैलिएको बताईन् । ‘समाज परिवर्तनको क्षेत्रमा अभियान चलाएको भए हामी पनि साथ दिन्थ्यौं । यस्ता अभियानले समाज भाँडिन्छ । प्रशासनको सूचनाले समाजमा त्रास फैलिएको छ,’ उनले भनिन्, ‘डेरा गरेर एउटा कोठामा बस्नेहरु होटल र पार्टी प्यालेसमा तीज नमनाए प्रशासन अगाडी मनाउने ? कि स्पष्ट ठाउँ तोकियोस् नभए छेकबार लगाउने अधिकार प्रशासनलाई छैन ।’ उनले पार्टी प्यालेसमा तीज मनाउन रोक्ने भन्दा आवश्यक सुरक्षा प्रदान गर्न सुझाईन् । ‘प्रशासनको काम तीज मनाउन रोक्ने होईन । कसैले गल्ती गरे रोक्ने र आवश्यक शान्ति सुरक्षा प्रदान गर्ने हो,’ उनी भन्छिन्, ‘प्रशासनले संविधानमाथी नै धावा बोलेको छ । महिलाविरुद्ध ज्यादती गरेको हाम्रो ठहर छ । प्रशासनले उक्त कदम फिर्ता नलिए अदालतको शरणमा जानेछौं ।’ प्रशासनले क्षेत्राधिकार मिचेर चाडपर्वमाथी असंबैधानिक कदम चालेको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले तीज मनाउन रोकेको नभई ब्यवस्थित गर्न खोजेको बताए । ‘समग्रको भावना बुझेर नै सूचना निकालिएको हो । तीज नमनाउनुस भनेकै छैन । भड्किलो नगर्नुस् भनेको हो,’ उनले भने, ‘जे पनि गर्न पाउनुपर्छ भन्ने हो भने त्यसलाई समाजले नै विरोध गर्छ । चाडबाड मौलिक बनाउनुपर्छ विकृति हुनुहुँदैन भनेका हौं । महिनौदेखि होईन निश्चित समयमा मात्रै तीज मनाउनुस् भनेर आग्रह गरिएको हो ।’ तीजका नाममा विभिन्न प्रकृतिका असामाजिक क्रियाकलाप नहोस् भन्ने हेतुले सूचना जारी गरी पहिल्यै सजग गराएको उनको भनाई छ । तीज पर्व मनाउने नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न साङ्गीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउनेजस्ता असामाजिक क्रियाकलाप नगर्न प्रशासनको सूचनामा भनिएको छ ।
नारी जागरण अभियानकी संयोजक अञ्जु क्षेत्रीले भड्किलो तीज रोक्नु धर्ममाथीको प्रहार नभएको बताईन् । ‘साथीहरुले धर्मसँग जोडेर हेर्नुभयो । हामीले विकृतिसँग जोड्यौं । धेरै दिन मनाउँदैमा पर्वको महत्व हुने हैन,’ उनी भन्छिन्, ‘परम्परा र मौलिकता अहिलेको तीजमा छैन । सम्पत्ति प्रदर्शन गर्ने थलो बनेको छ । यस्तो नहोस् भन्न खोजेका हौं । हाम्रो अभियान यतातिर छ । धर्ममाथी आक्रमण होईन ।’