ब्युटिसियनहरुको पाँच दिने उद्घोषण तालिम आइतबारबाट सुरु

 

पोखरा, कार्तिक १७ ।

“आर्थिक समृद्धिको लागि सौन्दर्य पेशा, आजको आवश्यकता” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै नेपाल ब्युटिसियन संघ कास्की र व्युटी पार्लर एसोसियन कास्कीको संयुक्त आयोजनामा पाँच दिने उद्घोषण तालिम आइतबारबाट सुरु भएको छ ।

सौन्दर्य व्यवसायमा आवद्ध ब्युटिसियनहरुको व्यवसायिक सँगै व्यक्तिगत नेतृत्व अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव एवं संघका सल्लाहकार चिनु गुरुङले जानकारी दिइन् । नेपालमा यस व्यवसायबाट आम्दानी गर्ने बाटो प्रशस्त रहेको भन्दै यस पेशालाई मर्यादितसँगै व्यवस्थित बनाउन आवश्यक रहेको उनले बताइन् ।

कार्यक्रममा बोल्दै नेपाल टे«ड युनियन, गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले बोल्ने कला हरेक विषयसँग जोडिने भएको हुँदा तालिमलाई गहनपूर्वक लिएर व्यवहारमा लागु गर्न आग्रह गरे । नेतृत्व तहदेखि हरेक पाटोमा बोल्ने कलाले प्रत्यक्ष प्रभाव पार्ने हुँदा यो सुनौलो मौकालाई खेर जान नदिन सहभागि सबैमा उनको अपिल थियो ।

नेपाल ब्युटिसियन संघ कास्कीका अध्यक्ष शर्मिला रानाभाटले तालिमबाट प्राप्त ज्ञानले व्यवसायीहरुलाई थप उर्जा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताईन् ।

प्रत्येक दिन फरक–फरक प्रशिक्षकबाट प्रशिक्षण गराईने उक्त तालिममा आइतबार रेडियो सफलताका स्टेशन म्यानेजर दुर्गा अधिकारीले वक्तामा चाहिने गुण, कार्यक्रम तालिका लगायत बिषयमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएकी थिइन् ।

सो तालिममा नेपाल टे«ड युनियन कास्कीका अध्यक्ष विजय भण्डारी, सचिव रुद्र तिमिलिसना, नेपाल व्युटिसियन संघ गण्डकी प्रदेशका अध्यक्ष कल्पना कोइराला लगायतले ब्युटिसियन पेशालाई बलियो बनाएर अगाडी बढाउने भन्दै अझ सशक्त ढंगबाट अगाडी बढ्न जरुरी रहेको बताए ।

तालिममा सौन्दर्य व्यवसायसँग आबद्ध व्युटिसियन, विभिन्न आमा समूहका प्रतिनिधि गरी करिब ५० जनाको सहभागिता रहेको थियो ।

नेपाल ब्युटिसियन संघ कास्कीका अध्यक्ष शर्मिला रानाभाटको अध्यक्षता भएको कार्यक्रमको संचालन सचिव अस्मिता गुरुङले गरेकी थिइन् ।