बुढीगण्डकी प्रभावितको ध्यानाकर्षण

गोरखा, असोज ८ ।
राष्ट्रिय गौरबको आयोजना बुढीगण्डकीको काम प्रभावकारी नभएको भन्दै प्रभावितहरुले बिरोध गरेका छन् । आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाईमा उर्जा मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । आयोजनाको आपसी विवादले स्थानीयमा अन्यौलता थपेको भन्दै तत्काल काम थाल्न उनीहरुको माग छ ।
समितिका संयोजक हरेराम ढकालले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा उर्जा मन्त्रालय, उर्जा सचिव, आयोजनाको ईकाइ, गोरखा र धादिङको जिल्ला प्रशासन कार्यालय,दुबै जिल्लाका नापी तथा मालपोत कार्यालय र दुबै जिल्लाका सबै सांसदहरुलाई बोधार्थ पठाईएको समितिले जनाएको छ । मुआब्जा बाँकी भएका ठाउँमा एकैपटक मुआब्जा दिनुपर्ने, आरुघाट र खहरेको मुआब्जा निर्धारण गरिनुपर्ने, मुआब्जा निर्धारण समितिले २०७३ मंसिरमा पारितका लागि मन्त्रिपरिषदमा पठाएको १७ वटा बुँदा निर्वाचन अगाडी नै पारित गरिनुपर्ने लगाएतका माग स्थानीयको छ ।
यस्तै जमिनसँगै घरगोठ, बोटबिरुवा सबैको मुआब्जा एकै पटक दिनुपर्ने संयोजक ढकालले बताए । आयोजना निर्माणको काममा आलटाल हुँदा उनीहरुले अन्यौलमा बस्नु परेको भन्दै प्रभावितको पिडालाई ध्यानमा राखेर काम गर्न आग्रह गरिएको छ ।