‘बास्तविक किसानले अनुदान पाउँदैनन्, खेती नगरेकाले लाखौं लगे’
पोखरा, असार २४ ।
घाँसका जरा बेचेर २२ लाख रुपैयाँ भित्र्याउनु चानचुने कुरा होईन । ८० रोपनी क्षेत्रफलमा घाँसको बिउ लगाएका तनहूँ गुणादीका बामदेव खनाल राष्ट्रिय किसान हुन् । २०५४ सालदेखि घाँसखेती गरेका उनी राज्यले सही किसान चिन्न नसकेको प्रति दुखेसो पोख्छन् । ‘सय रुपैयाँ पनि नपाउँदा दुख लाग्यो । किसानलाई सजिलो हुनुपथ्र्यो तर त्यस्तो छैन,’ उनले भने, ‘मान्छेहरुले केही गरेको देख्दिन । उनीहरुले नै लाखौं रुपैयाँ अनुदान लगेको सुन्छु । बास्तविक किसानलाई राज्यले सहयोग गरेन ।’
घाँसलाई अझैपनि खेतीको रुपमा मान्नेहरु नभउको उनको गुनासो छ । ‘घाँसपनि खेती होर भन्छन् । घाँसमा मल हाल्नुपर्छ भन्यो भने मान्छेहरु अचम्म मान्छन्,’ उनले अघि भने, ‘खेतीको रुपमा गर्ने हो भने घाँसबाट पनि राम्रै आम्दानी छ । मकै, धानलाई जति माया गर्छौं, उसैगरी माया घाँसलाई पनि गर्नुपर्छ । गोडमेल गर्नुपर्छ ।’ खनाल सहित ११ घाँसखेती गर्ने किसानलाई पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले सम्मान गरेको छ ।
तीनबर्षभित्र दुध, फुल र मासुमा आत्मनिर्भर हुने गण्डकी प्रदेश सरकारको लक्ष्य छ । तर अझैपनि अधिकांश घाँसको विउ विदेशबाट आयात गरिन्छ । ब्यवसायिक रुपमा घाँसखेती गर्नेहरु प्रदेशमा खासै धेरै छैनन् । भएकालाई पनि राज्यले सही सम्बोधन गर्न नसकेको उनीहरुको गुनासो छ । धेरैजसो किसान उत्पादन भएका घाँसको विउले बजार नपाएकोमा चिन्तित छन् ।
सरकारले ४ बर्षमा ४० प्रतिशत पशुजन्य पदार्थको उत्पादन बढाउने नीति लिएको छ । प्रदेशभित्र पशुपालन ब्यवस्थित रुपमा हुन नसकेको कृषिमन्त्री लेखबहादुर थापा स्विकार्छन् । ‘घाँस त स्वतः उत्पादन हुन्छ भन्ने धारणा छ । ब्यवस्थित रुपमा खेती हुन सकेको छैन,’ उनले भने, ‘यसले पशुपालनमा पनि प्रभाव पार्छ । बैज्ञानिक र ब्यवस्थित रुपमा पशुपालन गर्न सबैभन्दा पहिले घाँसखेती विस्तार गर्नुपर्छ ।’
दुध उत्पादनमा प्रदेश आत्मनिर्भरता नजिक भएपनि अझै ३ करोड लिटर दुध बाहिरबाट आयात हुने गरेको तथ्याकं उनले सुनाए । प्रदेशभित्र १ करोड ९६ लाख मेट्रिक टन दुध, ४ हजार मेट्रिक टन माछा र २७ हजार मेट्रिक टन मासु उत्पादन हुने सरकारी आँकडा छ । ब्यवस्थित घाँसखेती र कृत्रिम गर्भाधान पशुपालनमा सबैभन्दा महत्वपूर्ण पक्ष रहेको निर्देशनालयका निर्देशक मोहन पुन बताउँछन् । कृत्रिम गर्भाधान गराउने इन्सिमिनेटरहरुलाई पनि सोमबार सम्मान गरिएको छ । उत्कृष्ट १३ जना इन्सिमिनेटरलाई नगदसहित सम्मान गरिएको हो ।
सोमबार तनहूँका वामदेव खनाल सहित घाँस उत्पादक किसानहरु धनबहादुर पुन पाण्डे, पूर्णभद्र गौतम, विष्णु भट्ट, खिलबहादुर गुरुङ, दुर्गाबहादुर तामाङ, डण्डपाणी तिवारी, वसन्त शर्मा, गोविन्द पौडेल, सीतादेवी शर्मा र लक्ष्मी चापागाईं सम्मानित भए । यस्तै, कास्कीका पूर्णचन्द्र गैह्रे उत्कृष्ट इन्सिमिनेटरको रुपमा सम्मानित भए । उनलाई नगद १५ हजार उपलब्ध गराईएको निर्देशनालयका प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार शेरवहादुर सारु, दीगम्बर चौधरी, रमेश ज्ञवाली, किरण पण्डित, पुरुषोत्तम कपाली, सुभाष रेग्मी, घनश्याम शर्मा, रमेश चापागाईं, दीलमाय श्रेष्ठ र भगवती जिसीलाई नगद १२ हजार सहित पुस्कृत गरियो ।