बलि दिएर बालकको हत्या, धामी पक्राउ
धनुषा, जेठ १६ ।
धनुषामा ५५ वर्षीय धामीले बलिका रुपमा एक बालकको हत्या गरेका छन् । शक्तिशाली हुने अन्धविश्वासमा देवीदेवताको नाममा नर बलिका रूपमा बालकको हत्या गर्ने शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको गरेर सार्वजनिक गरेको हो ।
गत बैसाख २३ गते बेलुका ५ बजे महतोले मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन भन्ने समीरकुमार साहलाई घरको नजिक खेलिरहेको अवस्थामा ललाइफकाइ गर्दै अपहरण गरेर लगेका थिए ।
महतोले आफ्नो घरमा बन्धक बनाइ राखी भोलिपल्ट बैसाख २४ गते बिहान चमेनिया माय भन्ने देवताका नाममा नर बलिका रूपमा नियतपूर्वक आफ्नै घर आँगनमा धारिलो हतियारले बालकको घाँटी रेटी मारेको जनाइएको छ ।
हत्यापछि महतोले बालकको शवलाई बालकको घर पछाडि रहेको खेतको झारीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। महतोले विगत दुई वर्षदेखि धामीझाँक्री सिक्दै आएका थिए ।
बेलाबेलामा बालक समीरलाई झारफुक गर्दै आएका कारण बालकलाई फकाउन महतोलाई सजिलो भएको बताइएको छ । मृतक बालकका आमा रेणुदेवी साह घाँस काट्न गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी बालकलाई फकाइ अपहरण गरी बन्धक बनाएको थियो ।
मृतकका हजुरबा पीताम्बर साहले महतोका नाममा अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यानसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्खास्त दिएका थिए । सोही आधारमा महतोलाई हिजो आफ्नै घरमा फेला पारी कानूनबमोजिम पक्राउ गरिएको बताइएको छ ।
महतोले अपराध स्वीकार गरेको र उनीबाट धारिलो हतियार एक थान, घटना वारदातको बखत लगाएको गञ्जी एक थान, गम्छा एक थान र धोती एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।