फेरि बढ्यो तेलको मूल्य

काठमाण्डौं, माघ १९ ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ वृद्धि भएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाएको हो । निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । यो पटक मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै सस्तो हुँदा पनि सरकारले त्यसअनुरुप मूल्य समायोजन गरेको छैन । आफू सञ्चित घाटामा रहेको तर्क गर्दै निगमले मूलय समायोजन गर्दा नाफा बढाउँदै लगेको छ ।

निगमका अधिकारीरु सञ्चित घाटा पूर्ति भएपछि सीमित नाफा राखेर मूल्य एकैपटक घटाउने दावी गर्छन् । निगममा हालै मात्र सुरेन्द्र पौडेल प्रवन्ध निर्देशकका रुपमा आएका छन् । घाटामा रहेको उदयपुर सिमेन्टलाई नाफा लगेका कारण नै उनलाई निगममा जिम्मेवारी दिइएको थियो ।