प्रहरीबाटै कुटिए पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्की, अवस्था गम्भीर

सिन्धुली, असार २२ ।
नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गएराति पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् ।

प्रहरीको कुटाइबाट घाइते भएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । शनिबार राति सिन्धुलीको शिवनगरको एक होटलमा खाजा खाँदै गर्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत काभ्रे खावा–६ घर भएका ३० वर्षीय प्रहरी हवलदार सनमसिंह लामा र काभ्रे पनौती–७ बस्ने २८ वर्षीय प्रहरी जवान विकास स्याङ्तानले विनाकारण कुटपिट गरेका बताइएको छ ।

अध्यक्ष कार्कीको टाउकोमा गम्भीर चोट लागेको सिन्धुली अस्पतालले जनाएको छ । पत्रकार महासंघ सिन्धुली शाखाका पूर्वअध्यक्ष मीनकुमार दाहालसँग कुरा गरिरहेका बेला प्रहरी हवलदार सनम लामाले मोबाइलमा भिडियो कैद गरेको र भिडियो किन खिचेको डिलिट गर्नुस् भन्दा दुई प्रहरीले मोटरसाइकलको हेल्मेटलगायतका अन्य वस्तुले टाउकोमा हिर्काइ भागेको मीनकुमार दाहालले बताए ।

प्रहरीको कुटाइबाट आफू पनि सामान्य घाइते भएको उनको भनाइ छ । नेपाल पत्रकार महासंघले घटनाको विरोध गर्दै घाइतेको उपचार र दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ । पत्रकार महासंघ सिन्धुलीका अध्यक्षलाई प्रहरीले नै कुटपिट गरेको तर प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीबाट घटनाको विषयमा सन्तोषजनक सम्बोधन नभएको महासंघ सिन्धुलीकी उपाध्यक्ष विमला पाण्डेले बताइन् ।

यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राति नै पत्रकारले कार्यालय घेराउ गरेपछि प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दुवै प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान गरेर दोषी भए कारबाही गर्ने बताएका थिए । घाइतेको उपचार गर्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत उनले जनाएका थिए । रासस