प्रदेश ५ को संसद अधिवेशन माघ ५ मा, नाम र स्थायी राजधानी पनि तोक्ने

 

बुटवल, पुस १६ ।

प्रदेश ५ को हिउँदे संसद अधिवेशन आगामी माघ ५ गतेलाई आह्वान गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १ सय ८३ को उपधारा १ बमोजिम माघ ५ गतेका लागि बैठकको आह्वान गरेका हुन् ।

सबैको चासो र पेचिलो बिषय बनेको प्रदेशको नाम र स्थायी राजधानीको विषय पनि पाँचौं अधिवेशनले तोक्ने बताइएको छ ।

नेकपा भित्रको आन्तरीक किचलोले जटिल बन्दै गएको प्रदेशको स्थायी राजधानी र नामाकरण तोक्न नसक्दा प्रदेश सरकार आलोचित मात्रै भएको छैन गरेका केही राम्रा काम पनि ओझेलमा परेका छन् ।

प्रदेशको स्थायी राजधानी तथा नामाकरण सिफारिस गर्न बनेको विशेष समितिले प्रदेशको नाम लुम्बिनी र राजधानीको लागि रुपन्देहीको सैनामैनासँगै दाङ र कपिलवस्तु गरी तीन वटा स्थान सिफारिस गरिसकेको छ ।

प्रदेशको नाम र राजधानी सिफारिस गरिएको प्रतिवेदन सभामुख पूर्ण बहादुर घर्तीसामू बुझाइसकिएको छ । सोही प्रतिवेदनलाई यो अधिवेशनमा खुला गरेर छलफलसमेत गर्ने बताइएको छ ।

अरु विधेयकहरु पनि प्रदेश सरकारले तयार परेकाले सदनले काम पाउने छ ।
(ईमेजखबरबाट साभार)