प्रदेश ४ को नामाकंन समितिले काम थाल्यो

पोखरा, चैत २२ ।
बुधबार संसदले गठन गरेको प्रदेशको नामाकंन र राजधानी तोक्नका लागि बनेको सिफारिस समितिको बैठक बसेको छ । बैठकले नामाकंनका बारेमा जिल्ला तहमा सरोकारवालासहितको बैठक र छलफल गर्ने निर्णय गरेको छ । चैत २८ गते पहिलो पटक कास्कीको जिल्ला समन्वय समितिमा छलफल गरेर बाँकी जिल्लामा छलफलको कार्यसूची तयार गर्ने समितिका सदस्य विन्दुकुमार थापाले जानकारी दिए । उनका अनुसार कास्की बाहेकका १० जिल्लालाई ३ वटा क्लष्टरमा विभाजन गरेर प्रतिनिधी समेत तोकिएको छ ।
पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङमा समितिका सदस्यहरु दीपक कोइराला, सावित्रा राना, कृष्ण थापा र चन्द्रबहादुर बुढा छलफलमा जानेछन् । लमजुङ, गोरखा र मनाङमा सांसदहरु मधु अधिकारी, धनञ्जय दवाडी र हरिशरण आचार्य तथा नवलपुर, तनहूँ र स्याङजामा भगवत प्रकाश मल्ल, विन्दुकुमार थापा, मीनप्रसाद गुरुङ र सरिता गुरुङ लाई खटाउने निर्णय भएको थापाले जानकारी दिए । उनीहरुले छलफलमा उठेका नामबारे समितिमा एकीकृत गरेर छलफल गरी उपयुक्त नामहरु संसदसभामा प्रश्ताव गर्नेछन् ।