प्रदेश ४ को नामबारे असार १० गते संसदमा छलफल हुने

पोखरा, जेठ २९ ।
अहिले प्रदेश ४ को नामाकरण बिषयमा बढी चर्चा र बहस छ । पहिले नाम टुंग्याउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनमा नाराबाजी नै ग¥यो । सडकमा पनि विभिन्न जातिय संगठनहरुले आँफुअनुकुल माग राख्दै आन्दोलन गरिरहेका छन् ।

तर प्रदेश ४ को नाम र प्रदेश राजधानीका बिषयमा असार १० गते मात्रै छलफल हुने भएको छ । सरकारले नीति तथा कार्यक्रम सहित बजेट पारित गर्नुपर्ने भएकोले असार १० भन्दा अघि नामबारे छलफल गर्न नसक्ने जनाएको छ । उपसभामुखले पनि असार १० गतेका लागि छलफलको मिति तोकिसकेकी छिन् ।

प्रदेशको नामाकंन र राजधानीका लागि सुझाव संकलन समितिले जेठ २१ गते नै सुझाव सहितको प्रतिवेदन बुझाईसकेको छ । तर एमाले र माओवादीको एकीकरणका कारण साझा धारणा बन्न नसकेको भन्दै पार्टीभित्र छलफल गरेर मात्रै संसदमा बहस हुने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

‘समितिको सुझावलाई अन्तिम होईन । तर सुझावलाई आधार मानेर छलफल चलाउँछौं, उनले भने–पहिले पार्टीको साझा धारणा आउनुप¥यो । अनि संसदमा कुरा गरौंला ।’ समितिले गण्डकीलाई पहिलो प्राथमिकताका साथ प्रतिवेदनमा उल्लेख गरेको छ । दोश्रोमा तमुवान–मगरात, तेश्रोमा गोरखा र चौंथोमा धवलागिरी समेटिएका छन् ।

विपक्षी दलले भने नामाकंनको बिषयमा शंका गरेको छ । प्रतिवेदन र दुईतिहाई सांसदको पनि सुझाव प्राप्त भैसकेको अवस्थामा नाम टुंग्याउन समस्या नहुने भन्दै टार्ने काम गरिएको आरोप लगाएको छ । ‘समितिले लामो समय लगाएर रिपोर्ट बुझायो । दुई तिहाई (माओवादीबाहेक) का सांसदले पनि आफ्ना धारणा स्पष्ट रुपमा बुझाएका छन्, संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले भने–अनि यसमाथी छलफल चलाउन सत्तापक्षलाई के समस्या प¥यो ? सत्तापक्षले शंकास्पद ब्यवहार देखायो ।’ सबैको अपनत्व हुने गरी नाम राख्ने बिषयमा सबै सचेत रहेको उनको भनाई छ ।