प्रदेश ४ को नामका बारेमा कुन सांसदले के भने ? (पढ्नुस पूरै)

पोखरा, असार २२ ।
विहिबारदेखि प्रदेश ४ को नामाकरणका बिषयमा छलफल चलेको छ । छलफलमा सबै सांसदहरुले गण्डकी नाम सबैको साझा नाम भएको प्रतिक्रिया दिएका छन् । प्रदेशभित्रका सबै जातजाती, भाषा, धर्म, संस्कृति र भुगोलको प्रतिनिधीत्व नै गण्डकी भएकोले सर्वसहमतिबाट प्रदेशको नामाकरण गर्न उनीहरुको सुझाव छ । अर्थमन्त्री समेत रहेका नेकपा सांसद किरण गुरुङले गुरुङ र मगरहरुको पहिचान गण्डकीले समेट्न सक्ने भएकोले आन्दोलनको औचित्य नभएको बताए ।

नाम र अधिकार विल्कुल फरक विषय रहेको भन्दै उनले नामसँग भन्दा अधिकारसँग सवाल उठाउन आग्रह गरे । ‘वलवहादुर नाम राख्दैमा कोही बलवान हुने हैन । धनबहादुर नाम राखेर उ धनी हुनेपनि हैन, गुरुङले भने–प्रदेशको नामाकरणबारे पहिचानको मुद्धा आईरहेका छन् । त्यसैले गण्डकी सबैको साझा पहिचान भएकोले धेरै छलफल गरेर सर्वसम्मतिले निर्णय गरेका छौं ।’

नेकपा कहिलैपनि पहिचानको विरोधी नभएको बताउँदै उनले सबै समुदायलाई उत्तिकै सम्मान गर्ने प्रतिबद्धता जनाए । गण्डकी गुरुङ र मगर सहित सबै जातिको पहिचान भएको उनी बताउँछन् । ‘मगर भाषामा गान भनेको हरियो र डि भनेको पानी हो । गुरुङहरु हिमालबाट बग्ने नदीलाई डी भन्छन्, उनले थपे–मगर भाषाको गाण्डी र गुरुङ भाषको डी विस्तारै अपभ्रशं भएर गण्डकी भएको इतिहासले बताउँछ । त्यसैले गण्डकीले नै हामी सबैको साझा पहिचानलाई समेट्न सक्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले जनमतालाई आधार मानेर सर्वसम्मत गण्डकी नाम राख्न आग्रह गरे । गण्डकी नाम राख्दा प्रदेशको गौरव बढ्ने भन्दै उनले जातिय राज्यको पछि नलाग्न सुझाव दिए ।

‘कुनै जातिको पहिचानसँग अरु जातिले ईस्र्या गर्नुपर्ने ठाउँ छैन । यो जातजात बीचको लडाईं पनि हैन, उनले भने–राज्यको आँखामा सबैको हैसियत बराबर हो । समृद्ध र अग्रणी प्रदेश बनाउने उद्घोष गरेर हिडिरहँदा प्रदेशको नाम गण्डकी राखे अरु समक्ष उदाहरणीय बन्न सकिन्छ ।’

नेकपाकी सांसद आशा कोइराला पनि जात मात्रै पहिचान नभएको बताउँछिन् । ‘जाति बिशेषलाई मात्रै पहिचान भन्दा बुझाई गलत हुन्छ । भुगोल र इतिहास पनि पहिचान हो भन्ने भुल्नुहुँदैन, उनले भनिन्–‘हामी तमुवान–मगरातको मागलाई सम्मान गर्छौं । तर साझा जनभावना समेट्न प्रदेशको नाम गण्डकी हुनुपर्छ ।’ कोरलादेखि सुस्तासम्म सबै जिल्लाको भुगोल जलाधारले समेटेकोले सप्तगण्डकीमा सबैको भावना समेटिएको उनको तर्क छ ।

नेकपाका ईन्द्रलाल सापकोटाले संविधानको प्रस्तावनामा नै नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक रहेको हुँदा सबैलाई समेट्ने नाम खोज्नुपर्ने बताए । ‘हाम्रो देश एउटा जात, एउटा धर्म र एउटै भाषामा केन्द्रित छैन । बहु सांस्कृतिक विविधता नेपालमा छ, उनले भने–धवलागिरीको भएकोले मलाई सबैभन्दा प्यारो धवलागिरी लाग्छ । कतिपयलाई मगरात मगरात र कसैलाई तमुवान प्यारो लाग्ला तर सबैलाई मान्य हुने नाम खोज्दा गण्डकी उपयुक्त छ ।’

काँग्रेसका विष्णु लामिछानेले गण्डकी नदीको नाम भन्दा बढी सभ्यता भएको बताए । ‘गण्डकी एउटा नदीको नाम मात्रै हैन । यो हाम्रो सभ्यता पनि हो । हामी गण्डकी सभ्यताभित्र छौं, उनी भन्छन्–त्यसैले आज थोरै मात्र गल्ती गरेपनि प्रदेशलाई राम्रो बनाउने अभियानबाट चुक्छौं । अहिले नै सचेत हुनुपर्छ र गण्डकीलाई स्विकार गर्नुपर्छ ।’

नेकपाका धनञ्जय दवाडीले विभिन्न तथ्यहरुसहित प्रदेशको नाम गण्डकी राख्न जोड दिए । ‘हामीसँग हिमाल छ । हामीसँग पहाड र तराई पनि छ । गुरुङ, मगर, थारु सहित दर्जनौं जातजाति हाम्रो प्रदेशमा बस्छन्, उनले भने–अव यी सबैलाई समेटेर साझा अवधारणा बनाउन सके दीगो र द्रुत विकास सम्भव छ । हामी त्यही अभियानमा छौं ।’ उनले गण्डकी प्रदेशले सबैलाई अपनत्व महशुस गराउने विश्वास ब्यक्त गरे ।

‘नेपालको एकीकरण यहीँबाट भएको हो । भाषिक एकीकरण पनि यही प्रदेशबाट भयो, दवाडी भन्छन्–संस्कृति भनेको संस्कार हैन, हाम्रो जीवन शैलि हो । जसरी पानीले आफ्नो सतह आफै निर्माण गर्छ । त्यसैगरी प्रदेशको समृद्धीको समान सतह पनि गण्डकीले निर्माण गर्दछ ।’

प्रदेशसभामा बोल्ने सबै सांसदहरुले पनि गण्डकी नै नाम राख्नुपर्ने धारणा दिएका छन् । बिहिबारको बैठकमा १६ जना प्रदेशसभा सदस्यहरुले भाग लिएका हुन् । शुक्रबार पनि नामबारे छलफल गर्ने र नाम पारित गर्ने कार्यसूची छ । नामाकरणबारे संविधानको धारा २९५ को उपधारा २ ले प्रदेशसभा सदस्यको दुईतिहाई बहुमतले नाम तोक्न पाउने अधिकार दिएको छ ।

प्रदेश ४ को नाम गण्डकी राख्ने विषयमा भने २ जना बाहेक सबै सदस्यहरु सहमत देखिएका छन् । प्रदेशमा कुल ५९ जना प्रदेशसभा सदस्यहरु छन् । चारवटा संसदीय दलमध्ये ३९ सदस्य रहेको नेकपा, १५ सीटको नेपाली काँग्रेस, ३ सीटको जनमोर्चा र २ सीटको नयाँ शक्ति हो । नयाँशक्ति बाहेकका सबै दलले गण्डकी नाम राख्न समर्थन गरेका छन् ।