प्रदेश ४ को कार्यक्रम–२०७५ मा लगानी सम्मेलन, २०२२ मा पोखरा पर्यटन बर्ष

प्रकाश ढकाल
पोखरा, बैशाख ३ ।
प्रदेश ४ ले आगामी ५ बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार प्रदेश प्रमुख बाबुराम कुवँरले प्रदेशसभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश ४ ले ५ बर्षमा पर्यटनमा प्राथमिकताका साथ लगानी बढाउने नीति तर्जुमा गरेको छ ।

२०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई पोखरा पर्यटन वर्ष मनाईने

पर्यटनलाई वढावा दिन सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत अन्तराष्ट्रिय स्तरको पोखरा पर्यटन वर्ष मनाईने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारले यो आर्थिक बर्षलाई कानुन तर्जुमा र प्रादेशिक संरचना बर्ष र आगामी बर्षलाई प्रदेशिक संरचना निर्माण बर्षको रुपमा कार्यान्वयन गरिनेछ ।

प्रदेशको नीति तयार गर्दा सामाजिक न्याय, लैगिंक समानता, समानुपातिक समाबेशीकरण, समतामुलक समाजको आधार निर्माणमा केन्द्रित गर्ने जनाएको छ । यस्तै प्रदेशमा लगानी बढाउन २०७५ सालभित्रै लगानी सम्मेलन गरिने कार्यक्रम अख्तियारी गरिएको छ ।