पोखरा १० मा गठबन्धनको कार्यालय

पोखरा, कार्तिक २७ ।
चुनावी अभियानका क्रममा पोखरा १० मा निर्वाचन परिचालन कमिटीको कार्यालय शुभारम्भ गरिएको छ । कार्यालयको कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खगराज अधिकारीले उद्घाटन गरे । उनले राजनैतिक स्थायित्व, स्थायी सरकार र तीव्र आर्थिक विकासका लागि बाम गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताए । ‘समृद्ध नेपाल निर्माणका लागि बाम उम्मेदवारको जित आवश्यक छ,’ उनले भने, ‘एमाले र माओवादी केन्द्रको गठबन्धन समृद्धिको अभियान हो ।’
क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा खका उम्मेदवार मनबहादुर गुरुङले जनताले भोग्नुपरेका समस्या समाधान गर्र्न तल्लीन हुने प्रतिबद्धता गरे । ‘निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न म लाग्छु,’ उनले भने । चुनाव प्रचारप्रसार समिति पोखरा १० का संयोजक गंगा कुँवरको अध्यक्षतामा भएको कार्यक्रम सचिव राजु श्रेष्ठले सञ्चालन गरेका थिए । गठबन्धनका उम्मेदवारले आफ्ना समर्थकको साथमा वडा नं. १० का विभिन्न स्थानमा आइतबार घरदैलो तथा कोणसभा गरेका छन् ।
कोइराला घरदैलोमा
कास्की क्षेत्र नं १ को प्रदेश सभा १ का उमेदवार दीपक कोइराला आइतबार नेता, कार्यकर्तासहित पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० का विभिन्न ठाउँमा पुगे । उनले आफना चुनावी एजेन्डा र आगामी दिनमा गर्न सकिने विकास, निर्माणबारे प्रकाश पार्दै आफूलाई जिताउन आग्रह गरे । टोलीले शिशुवाचोक, लक्ष्मी आर्दश, खयर खोर, डुँडाकोमुख हुँदै खुदीसम्म घरदैलो गरेको हो ।
चोक चोकमा भएका कोणसभामा प्रदेश सभाका उम्मेदवार दीपक कोइराला, नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कोमलनाथ बराल, क्षेत्र नं १ कका संयोजक विजयबावु बनवासी, सहसंयोजक विनय थापा, कार्यदलका सचिव छविलाल लामिछाने, नेता टीकाराम पंगेनी, शालिकग्राम पौडेल र मोहन गुरुङ लगायतले देशको स्थायी सरकार बनाउन बाम गठबन्धनका उमेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।