पोखरा रंगशालामा छिर्दै हुनुहुन्छ ? पैसा लिएर जानुस्

पोखरा, असोज ९ ।
पोखरा रंगशाला छिर्दै हुनुहुन्छ ? खल्तीमा हेर्नुस् पैसा छ कि छैन ? किनकी अवदेखि पोखरा रंगशाला छिर्नलाई पैसा तिर्नुपर्छ । रंगशालामा छिर्ने सर्वसाधारणदेखि खेलाडीले समेत पैसा तिनुपर्ने नियम बनाईएको हो ।

सर्वसाधारणका लागि वार्षिक ५ सय, खेलकुद संघका पदाधिकारीका लागि १ सय र खेलाडीलाई ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । मंगलबार पैसा लिएर करिब ५ सय जनालाई कार्ड वितरण गरिएको छ । विना काम रंगशालामा छिर्नेलाई बन्देज लगाईएको छ ।

रंगशालालाई व्यवस्थित बनाउने भन्दै कास्की जिल्ला खेलकुद बिकास समितिले परिचयपत्रको नाममा सर्वसाधारणलाई छिर्न रोक लगाएको हो । सरकारी खुला चउरमा छिर्न पनि पैसा तिर्नुपर्ने भएपछि लागू हुनुअघि नै विरोध सुरु भैसकेको छ ।

महानगरपालिका र पोखरा १० वडा कार्यालयले पनि यसको विरोध गरेको छ । मंगलबार कार्ड वितरणका लागि बोलाईएका महानगरका प्रमुख मानबहादुर जिसी कार्यक्रममै सहभागी भएनन् । कार्यक्रममै सहभागी भएपनि १० नम्बर वडाका अध्यक्ष राजकुमार गुरुङले पनि आफुहरु सँग जिल्ला खेलकुदले समन्वय नगरेको बताए ।

उनले रंगशालाभित्रबाट खर्च हुने रकम पारदर्शी नभएको भन्दै जनतालाई जानकारी गराउन आग्रह समेत गरे । रंगशालाभित्रका संरचना निर्माणमा समितिले चासो नदिने र अनावश्यक रुपमा रकम उठाएर मनपरि खर्च गर्ने परिपाटी अन्त्य हुनुपर्ने उनको भनाई छ ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बृद्धबृद्धालाई शुल्क नलिने बताए । ‘जेष्ठ नागरिक छिर्दा पैसा लिँदैनौं तर नागरिकता दिएर परिचयपत्र चाहीँ बनाउनुपर्छ, उनले भने–यो कुनै कर होईन । हामीले रंगशालालाई ब्यवस्थित गर्न खोजेका हौं ।’ रंगशाला प्रवेश गर्दा यसअघि पनि शुल्क लिईने चलन थियो । तर चौतर्फी विरोध पछि रोकिएको हो । अहिले लामो समयपछि पुनः पासका नाममा शुल्क लिने काम गरिएको छ ।

पास विना खेलाडी, खेल पदाधिकारी एवं सर्वसाधारणलाई रंगशाला परिसर भित्र प्रवेशमा रोक लगाउने निर्णय जिल्ला खेलकुद विकास समितिले गरेको छ । समितिले भदौ १ गतेदेखि लागु हुने गरी सर्वसाधारणलाई सूचीत गरेपछि कार्ड बनाउन भएको ढिलाईले मंसिर १ गतेपछि अनिवार्य कार्ड विना प्रवेश गर्न नपाईने निर्णय समेत गरेको छ ।

पास नलिएकोलाई रंगशाला प्रवेशमा रोक लगाईने छ । समितिले खेलाडी, खेल संघका पदाधिकारी, अन्य पदाधिकारी, रंगशालामा विहानी समयमा मर्निङ वाक गर्न आउने सर्वसाधारणका सबैको छुट्टाछुट्टै पासको व्यवस्था गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष एवं नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारले बताए ।