पोखरा महानगरको ल्याण्डफिल ३३ नम्बर वडामा सारिने
 
    पोखरा, २७ जेठ ।
पोखरा महानगरपालिकाको ल्याण्डफिल साइट ३३ नम्बर वडामा सार्ने निर्णय गरिएको छ । योसँगै महानगरले केही महत्वपूर्ण निर्णय गरेको छ । निर्णयहरुः
१. पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गर्दै शौचालय निर्माण गर्ने अवधिसम्मका लागि बैङ्क, होटल, विभिन्न संघ संस्था र रेष्टुरेन्ट शौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्ने दुईपक्षीय सम्झौता गर्ने निर्णय भएको छ।
२. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेकाले उडान संचालनका लागि बाधक बनिरहेको साविकको ल्याण्डफिल्डसाइ हटाउनु पर्ने भएकाले कार्यपालिकाको पहिलो बैठकले तत्कालै पोखरा–३३ मा नयाँ ल्याण्डफिल्डसाइड बनाउन आवश्यक तयारी थाल्ने निर्णय गरेको हो।
३. पोखरा महानगरपालिकाले तत्काल आपत्कालीन सेवा सञ्चालनमा ल्याउने भएको छ। जसमा सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्ने गरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारिता ल्याउने निर्णय भएको छ।
४. छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाइ अभियान चलाएर व्यवहारिक रूपमा आपत्कालीन सेवा संचालन गर्दै महानगरको दायित्वभित्र पर्ने अत्यावश्यक कार्यलाई तत्काल अगाडी बढाउने निर्णय भएको छ।
५. त्यसैगरी बैठकले विश्व बैंकले सहयोगमा तालचोक–बेगनासको तीन किलोमिटर दूरीको चार लेनको सडक निर्माणका लागि ठेक्का बोलपत्र स्वीकृत गरेको छ।



 
				                                     
				                                     
				                                     
				                                     
				                                     
				                                    