पोखराले जोगायो नेपालको शाख, प्याराग्लाईडिङमा रजत

पोखरा, भदौ १३ ।
१८ औं संस्करणको एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेको छ । १८ औं संस्करणका लागि पहिलो पदक जितेको हो । प्याराग्लाइडिङ क्रसकन्ट्री विधामा बुधबार पनि नेपाली पुरूष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेको हो ।

बुधबार भएको पाचौं दिनको खेलमा प्याराग्लाइडिङको पुरुष टिमले उत्कृष्ट प्रदर्शन गर्दै पदकविहीन हुनबाट नेपाललाई जोगाएको हो । नेपाललाई २७ अंकले हराउँदै जापानले स्वर्ण पदक जितेको छ । नेपालले कुल ११ हजार ३ सय ६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३ सय ९१ अंक प्राप्त गरेको थियो । पदक बिजेता टोलि सबै पोखरामा ब्यवसायिक रुपमा प्याराग्लाईडिङ उडान गर्दै आएका छन् ।

विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाको टोलीले नेपाललाई पदक जिताएको हो । यो सँगै नेपालले एसियन गेम्सको इतिहासमा दोस्रो पटक रजत पदक जितेको छ । यसअघि सन् १९९८ मा बैंककमा भएको एसियन गेम्सको तेक्वान्दोमा नेपालकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।