पोखरामा नगरबसको दादागिरी–ओभर स्पिडले फुटपाथमा उक्लियो गाडी !

पोखरा, भदौ १८ ।
पोखराका सडकमा डरलाग्दो छ, नगरबसको दादागिरी । साना सडकमा पनि तीब्र गतिमा गाडी हुँईक्याउने र झ्याप झ्याप ब्रेक लाउँदा एकातिर पैदलयात्रुलाई त्रास छ भने अर्कोतिर गाडीमै यात्रा गर्नेहरु पनि तर्सिन्छन् । पोखरा उपत्यकामा चल्ने स्थानीय बसका चालकहरु ओभर स्पिडमा गुडाउने गुनासो निरन्तर आईरहन्छन् ।

सोमबार यस्तै एउटा ठूलो दुर्घटना टरेको छ । सिर्जनाचोकतिरबाट रत्नचोकतर्फ गुडिरहेको माईक्रो बस फुटपाथमा ठोकिएको थियो । एक पैदलयात्री सामान्य घाईते समेत भएका छन् । ग १ ख ७०४० नम्बरको बस तीब्र गतिमा गुडिरहेको र ट्याक्सीलाई ओभरटेक गरेपछि आफ्नो साइड लिने क्रममा अनियन्त्रित भएको प्रत्यक्षदर्शीले बताए ।

दिउँसो पौनै ३ बजे भएको दुर्घटनामा भाग्यवश अरु क्षति हुन पाएन । व्यस्त सडक भएपनि नजिकै अरु गाडीहरु नभएका कारण दुर्घटना हुन नपाएको स्थानीयले बताए । चालकले ब्रेक लगाउने प्रयास गर्दा समेत झण्डै २० मिटर बस घिसारिएको उनीहरुको भनाई छ ।