पोखरामा अन्तराष्ट्रिय रंगशाला बन्छ–खेलकुदमन्त्रीसँगको अन्तरवार्ता

पोखरा, असार २५ ।
१३ औं दक्षिण एसियाली खेलकुद र ८ औं राष्ट्रिय खेलकुद नजिकिँदै छ । यसका लागि आवश्यक संरचना र पूर्वाधार अझै पूरा भैसकेका छैनन् । दक्षिण एसियाली खेल काठमाण्डौं र पोखरामा हुने सरकारले घोषणा गरिसकेको छ । तर भौतिक पूर्वाधार निर्माण दु्रत गतिमा हुन नसकेको विद्यमान अवस्थामा समयमै काम सक्ला त सरकारले ? हामीले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मासँग कुराकानी गरेका छौं । सोही कुराकानीको छोटो अंश–

मन्त्रीज्यू, दक्षिण एसियाली खेलकुद आउन लागिसक्यो तर संरचना छैन । मन्त्रालयले १ बर्षभित्रमा संरचना बनाईसक्ने लक्ष्यका साथ काम थालेको छ, नेपालको लामो र झण्झटपूर्ण काम गर्ने प्रक्रियाले यो सम्भव देख्नुहुन्छ ?

देशको प्रतिष्ठासँग जोडिएको १३ औं दक्षिण एसियाली प्रतियोगिता आगामी फागुन महिनामा हुँदैछ । त्यो प्रतियोगिता बिशेषगरी काठमाण्डौं र पोखरा केन्द्रित हुनेछन् । त्यही प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका काम तीव्र गतिमा भैरहेको छ । त्यसैको लागि पोखरा रंगशालामा प्रतियोगितासँग सम्बन्धित योजना छन् भने केही चाहीँ पोखरा रंगशालाका लागि अत्यावश्यक योजनाहरु छन् । दक्षिण एसियाली प्रतियोगिताका लागि आवश्यक पर्ने संरचना समयमै तयार गरिसक्ने लक्ष्यका साथ लागिरहेका छौं । यो समयमै सकिन्छ ।

८ औं राष्ट्रिय खेल नेपालगञ्जमा हुँदैछ । यसका संरचना अहिलेसम्म बनेको छैन । समयमै काम हुन्छ भन्ने कसरी विश्वास लिने ?

यो प्रतियोगितापनि विगतको बर्षमा भैसक्नुपर्ने हो । विभिनन कारणले समयमै प्रतियोगिता हुन सकेन । हामीले मन्त्रालय सम्हालेको २६ औं दिनमा नै परिषद्को बैठक बसेर आँउदो मंसिर २१ देखि २८ गतेसम्म गर्ने निर्णय गरिसकेका छौं । र तोकिएकै समयमा खेल हुन्छ । संरचनाको काम भैरहेको छ । १३ औं दक्षिण एसियाली प्रतियोगिता र ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रित भएर मन्त्रालयले काम गरिरहेको छ । मन्त्रालयका सबै संयन्त्र परिचालन गरिएको छ । सहसचिवको नेतृत्वमा अनुगमन समिति गठन भएको छ ।

पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने कुरा धेरै चर्चा भयो । कलाकारको टीमले पनि हेरिसकेको छ मन्त्रालयले के योजना बनाएको छ ?

पोखरा रंगशालामा १३ औं दक्षिण एसियाली खेलकुदलाई ध्यानमा राखेर पूर्वाधार निर्माण गरिरहेका छौं । तर मेरो सुखद संयोग मान्नुपर्छ, मैले मन्त्रालय सम्हालेको दिन नै नेपाली क्रिकेट टोलीले अन्तराष्ट्रिय एक दिवसीय मान्यता प्राप्त गरेको थियो । यो खुशीको जगमा जिम्मेवारीको पहिलो पाइला राख्ने अवसर पाएँ । तर खेलाडीलाई खेल्ने उचित वातावरण छैन । यस्तो प्रतिकुल परिस्थितीमा पनि जुन साहसका साथ खेलेर यति ठूलो योगदान दिनुभएको छ, वहाँहरुको साँचो सम्मान त्यतिवेला हुनेछ जतिवेला नेपालको खेलकुद क्षेत्रमा अहिले सामना गर्नुपरेको समस्या समाधान हुनेछ । त्यो परिस्थिती हामीले बनाउन सकियो भने साँचो अर्थमा वहाँहरुको सम्मान हुने हामीले ठानेका छौं । यही बुझाईंका साथ संकल्पित भएर लागेका छौं ।

क्रिकेटकै सन्दर्भमा कुरा गर्दा देशभरीमा ८ वटा क्रिकेट मैदान बनाउने योजना सहित अघि बढेका छौं । त्यो मध्ये पोखरा पनि हो । अहिले बजेटको आकार सानो भएपनि सरकारको प्राथमिकताभित्र परेको छ ।

गण्डकी प्रदेशले पनि पोखरालाई अन्तराष्ट्रिय रंगशाला बनाउने योजना बनाएर बजेट पनि विनियोजन गरिसकेको छ । नेपाल सरकारको योजना के छ ?

विशेषगरी सरकारको तर्फबाट अहिले नेपालका खेलक्षेत्र र खेलाडीले भोगेका समस्या समाधानका लागि भौतिक पूर्वाधार र खेलाडीको सेवा सुविधालाई प्राथमिकतामा राखेको छ । खेलाडीको प्रतिश्पर्धी क्षमता विकास र नयाँ खेलका प्रतिभा जन्माउन नियमित प्रतियोगिता र तालिम प्रशिक्षण हुन आवश्यक छ । खेल क्षेत्रका सम्भावना खोजी गर्ने र त्यसलाई विकसित गर्ने ।

पर्यटनको विकासमा खेल क्षेत्रको माध्यमबाट टेवा पुर्याउन सक्ने हाम्रो देशको भौगोलिक अवस्था र हावापानी सुहाउने खेलको सम्भावना खोजेर देशको आर्थिक समृद्धी हासिल गर्ने पक्षमा जोड्ने । भौतिक पूर्वाधारको सन्दर्भमा काठमाण्डौं उपत्यकामा अन्तराष्ट्रिय सेवा सुविधा सहितको रंगशाला बनाउने, देशका सातवटै प्रदेशमा प्रदेश स्तरीय रंगशाला बनाउने र ७ सय ५३ वटै स्थानीय तहमा स्थानीय स्तरको रंगशाला बनाउने सरकारको लक्ष्य छ ।

प्रदेश सरकारले भनेको अन्तराष्ट्रिय रंगशाला पोखरामा बन्दैन त्यसो भए ?

होईन हामीले आधुनिक सुविधा सहितको रंगशाला भनेका छौं । यसको अर्थ अन्तराष्ट्रिय स्तरका खेल पनि खेलाउन मिल्ने खालको रंगशाला हो ।

यति ठूलो लक्ष्य लिएर हिडेको सरकारले बजेटमा किन सम्बोधन गर्न सकेन ?

हामी आपसी समझदारी र समन्वयमा नै खेलमैदान बनाउने हो । प्रदेश र काठमाण्डौंको रंगशाला प्रत्यक्ष मन्त्रालयको निगरानीमा बनाउने हो । अरु स्थानीय तहसँग समन्वय गरेर काम गर्छौं । अव हेर्नुस् मन्त्रालयको पूरा बजेट करिब ४ अर्व हो । त्यसैभित्र युवा परिषद् छ । स्काउट छ, युवा स्वरोजगार कोष र स्वयंसेवा कोष पनि यहीभित्र पर्छ । राष्ट्रिय खेलदेखि अन्तराष्ट्रिय खेलहरुपनि यही बजेटबाट चलाउनुपर्छ । त्यसैले बजेट स्वभाविक कम छ । तर सरकारका उद्देश्य र योजना पूरा गर्न बैकल्पिक श्रोत खोजी गर्ने र पूरा गर्नेतर्फ सरकार अघि बढिरहेको छ ।