पोखराबाट देउवाले भनेः ओलीकै सहमतिमा भारतले नयाँ नक्सा निकाल्यो

पोखरा, मंसिर ७ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाएका छन् । पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीकै सहमतिमा नेपाली भूभाग भारतको नयाँ नक्सामा समेटिएको बताए ।

‘भारतले ओलीसँग कुनै सम्झौता गरेरै नयाँ नक्सा गरेको हुनसक्छ,’ देउवाले भने, ‘नत्र नेपाली भूभाग मिचिएको प्रष्ट हुँदाहुँदै सरकारले किन उच्चस्तरको कुटनीतिक पहल गर्दैन । त्यही भएर केपी ओलीको सहमतिमा भारतले नक्सा जारी गरेको पुष्टि हुन्छ ।’

उच्चस्तरको कूटनीतिक पहल गर्नुपर्नेमा सरकार मौन रहेको उनको तर्क छ । देउवाले चुनावी सभामा ओली सरकारले जनताको ढाड सेक्ने गरी कर लगाएको पनि आरोप लगाएका थिए । ‘ओली सरकार भ्रष्टाचारी सरकार भयो,’ उनले भने, ‘जनतालाई उठ्नै नसक्ने गरी कर लगाउने र आफूहरुले कसरी भ्रष्टचार गर्ने भन्ने तर्फ नै ध्यान लगाए । जनताको दुःखलाई सम्बोधन गर्नुको सट्टा झन् खाडल खनेर पसाल्ने मात्र काम भयो । यसरी देश कसरी उभो लाग्छ ?’

सरकारले अहिले अनावश्यक रवैया देखाएको बताउँदै देउवाले उपनिर्वाचनमा ओली सरकारलाई चुनौती दिन पनि कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे । सरकारले जनताविरोधी कार्यक्रम गरेको उनको भनाइ छ । उपनिर्वाचन कांग्रेसलाई मतदान गरे कम्युनिष्ट सरकारलाई थप भ्रष्टाचारी हुनबाट जोगाउन कांग्रेसले पहल गर्ने उनको भनाइ थियो ।

कास्की २ मा नेपाली कांग्रेसबाट खेमराज पौडेल चुनावी मैदानमा उत्रिएका छन् । पौडेलले जिते लोकतन्त्रकै जित हुने उनले बताए । वर्षौंदेखि कास्कीका जनताको सेवा गरेका खेमराज मतदाताको रोजाइमा पनि परेको उनले बताए । उनले मतदाता रिझाउँदै रुखमा भोट आउनेमा ढुक्क रहेको बताए । यसैगरी उपनिर्वाचन सम्बन्धी चुनावी सभालाई सम्बोधन गर्न शनिबार कांग्रेसका केन्द्रीय नेताहरु यतिबेला पोखरामा छन् ।