पोखराको सहकारीमै सुरु भयो एटिएम

पोखरा, माघ ८ ।
पोखरा रोयल सहकारीले एटिएम सेवा सुरु गरेको छ । सहकारीको कार्यालय बुद्धचोकबाट एटिएम सुविधा सुरु गरिएको छ । सोमबार गण्डकी प्रदेशका सहकारीमन्त्री लेखबहादुर थापाले एटिएम शुभारम्भ गरे ।

थापाले सहकारीहरु पछिल्लो समय आधुनिक बन्ने क्रम बढेको बताए । ‘सहकारी समयसापेक्ष परिवर्तन हुँदै अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘वित्तीय कारोबार गर्ने संस्थाका लागि एटिएम अपरिहार्य भएको छ ।’ जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारीले एटिएम सेवा सञ्चालन गर्नु सहकारी क्षेत्रका लागि गौरवको विषय भएको बताए ।

सेयर सदस्यको हितलाई ख्याल गर्दै र सहकारीलाई आधुनिक तथा प्रविधिमैत्री बनाउन एटिएम सेवा सञ्चालनमा ल्याइएको सहकारीका सचिव भीम गुरुङले बताए । एटिएम सेवा सञ्चालन गर्ने कास्कीको पहिलो सहकारीसमेत पोखरा रोयल बनेको छ ।

एटिएमको स्थापनासँगै सहकारीले सेयर सदस्यलाई एटिएम कार्ड वितरण सुरु गरेको मुख्य प्रबन्धक मीलन ढकालले जानकारी दिए । पोखरा रोयलले वितरण गर्ने एससिटी कार्ड नेपालभरका एटिएम मेसिनमा प्रयोग गरेर पैसा निकाल्न सकिने एससिटीका प्रवन्धक दीपक मास्केले बताए । सहकारीमा अहिले ५ हजार सेयर सदस्य छन् ।